काठमाडौं । अखिल नेपाल महिला संघ(अनेमसंघ) ले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अराजक नाराबाजी गर्नेहरुमाथि कारबाहीको माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ)ले आइतबार गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गालीगलौज गर्नेहरुबिरुद्ध कानुनी कारबाही गर्न माग गरेको हो ।
लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो बिचार अभिव्यक्त गर्ने स्वतन्त्रता भएपनि प्रधानमन्त्री र राष्ट्रपतिकाविरुद्धमा अमानवीय, अर्मयादित, अशोभनिय तथा अराजक अभिव्यक्ति आएको भन्दै अनेमसंघले आपत्ति जनाएको छ ।
ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले राष्ट्रपतिविरुद्ध अर्मयादित विषय उठाइएको प्रति सरकारको ध्यानाकर्षण भएको भन्दै सम्बन्धित निकायलाई छानविन गरी कारबाही गर्न निर्देशन दिएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै राजनीतिक दलहरु सरकारको असंवैधानिक कदम भन्दै आन्दोलित भएका छन् । आन्दोलनमा प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध नारावाजी हुने गरेको छ ।
