काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षाका लागि आफ्नो भूमिकाबारे सबै पक्षसँग परामर्श गरिरहेको बताएका छन् ।
बिहीबार विभिन्न पार्टी सम्बद्ध महिला संघको संयुक्त टोलीको ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नदिएको सम्बन्धमा आफूले यसअघि नै विज्ञप्ति जारी गरेको र संविधानको रक्षाका लागि आफ्नो भूमिकाबारे परामर्श गरिरहेको बताएका हुन् ।
सभामुख सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको विषयलाई समावेश गरेर अदालतमा उत्तर दिन लागेको समेत बताए । उनले संविधानको रक्षा, देश र जनताको हितमा सधैं समर्पित भएर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
महिला संघले बुझाएको ध्यानाकर्षण पत्रमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर देश र नेपाली जनतालाई अनिश्चितकालिन अन्धकारको सुरुङ भित्र धकेलिदिएको उल्लेख छ । उनीहरुले प्रतिनिधि सभा विघटनको घोषणा खारेज हुनुपर्ने माग समेत गरेका छन् ।
ज्ञापनपत्र बुझाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह सम्बद्ध अखिल नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला संघ, राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ, विवेकशिल साझा पार्टी निकट विवेकशील साझा महिला संघका प्रतिनिधि पुगेका थिए ।
