कोभिड-१९ को नयाँ प्रकार अमेरिकामा पनि पुष्टि

तीव्र गतिमा फैलिन सक्ने भनिएको कोरोनाभाइरसको नयाँ प्रकार अमेरिकामा पनि देखिएको छ। बेलायतमा पहिलोपटक भेटिएको भनिएको भाइरसको नयाँ प्रकार अमेरिकाको कोलराडो राज्यमा फेला परेको पुष्टि भएको हो ।

बिरामी परेका २० वर्षका एक युवा हाल आइसोलेसनमा छन्। उनले पछिल्लो केही समयमा यात्रा गरेका थिएनन् । राज्यका अधिकारीहरूले आफूहरू उनले भेटघाट गरेकाहरूको खोजीमा लागेको र नयाँ प्रकारको अन्य सम्भावित सङ्क्रमण पहिचान गर्न लागिपरेको बताएका छन् ।

गत साता अमेरिकी स्वास्थ्य अधिकारीहरूले उक्त नयाँ भाइरस भेरिअन्ट अमेरिकामा आइसकेको हुनसक्ने विश्वास गरेको बताएका थिए । हालसम्म उक्त नयाँ भाइरस भेटिएको थुप्रै देशले पुष्टि गरिसकेका छन् ।

भारत, क्यानडा, जापान, स्पेन, स्वीडेन तथा फ्रान्समा पनि नयाँ प्रकारको कोरोनाभाइरस भेटिएको छ । यो नयाँ प्रकारको कोरोनाभाइरस पुरानोभन्दा धेरै सङ्क्रामक रहेको ठानिए पनि थप घातक भने नभएको विज्ञहरूले बताउने गरेका छन् ।

साथै विज्ञहरूका अनुसार हालसालै विकसित गरिएका खोपहरू यसको विरुद्धपनि उत्तिकै प्रभावकारी हुने ठानिएका छन् । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले कोरोनाभाइरस विरुद्धको खोप वितरण गर्ने कार्य समय तालिका भन्दा पछि परेको भन्दै ट्रम्प प्रशासनको आलोचना गरेका छन् ।

बाइडनले खोप अभियान ’बन्दोबस्तीका हिसाबले राष्ट्रका रूपमा आफूहरूले भोगेको सबैभन्दा कठिन चुनौती’ रहेको बताए । ट्रम्प प्रशासनले डिसेम्बर सम्ममा २ करोड अमेरिकीहरूलाई खोप लगाउने लक्ष्य राखेको थियो। तर हालसम्म २१ लाख मानिसहरूले मात्रै खोप लगाएको अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी)ले जनाएको छ ।

अमेरिकामा कोभिड १९ बाट १ करोड ९४ लाख भन्दा बढी मानिस सङ्क्रमित भएका छन्। मृत्यु हुनेको सङ्ख्या ३३७,००० पुगेको छ । बाइडनले कोरियाली युद्धका बेला लागु गरिएको एउटा कानुनी प्रावधान प्रयोगमा ल्याएर निजी कम्पनीहरूलाई खोप विकास गर्ने कार्यलाई गति दिन बाध्य पार्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *