काठमाडौँ । मध्य क्रोएशियामा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण सात जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका छन् । पेट्रेनियामा १२ वर्षकी एक बालिकाको मृत्यु भएको उक्त क्षेत्रको भ्रमणपछि प्रधानमन्त्रीले जनाएका छन् ।
पाँच जनाको नजिकैको सहर ग्लीनामा मृत्यु भएको उप प्रधानमन्त्रीले बताए । मृत्यु भएका सातौँ व्यक्ति जाजीनास्थित एउटा गिर्जाघरको भग्नावशेषमा फेला परेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पेट्रेनियाका मेयरका अनुसार सहरको करिब आधा भाग ध्वस्त भएको छ र मानिसहरूलाई भग्नावशेषबाट निकालिँदै छ ।
भूकम्पको प्रभाव क्रोएशियाको राजधानी जाग्रेब, छिमेकी बोस्निया र सर्वियाका साथै इटलीसम्म महसुस गरिएको थियो । सरकारी सञ्चारमाध्यमका अनुसार एक जना महिलालाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ ।
राष्ट्रिय प्रसारक एचआरटीले स्थानीय अस्पतालहरूलाई घाइतेहरूको उपचार गर्न गाह्रो भएको जनाएको छ । केही घाइतेलाई शल्यक्रियाको आवश्यकता रहेको बताइएको बीबीसीले जनाएको छ ।
जर्मन रिसर्च सेन्टर फर जीओसाइन्सेसका अनुसार स्थानीय समय अनुसार ११ बजेर १९ मिनेट जाँदा भूकम्प आएको हो ।
पेट्रेनिया पुगेका प्रधानमन्त्री आन्द्रे प्लेनकोभीचले भने, “एक जना बालिकाको मृत्यु भएको खबर हामीसँग छ। के कति हताहत भए भन्ने बारे थप सूचना छैन ।” “सहयोगका लागि सेना आएका छन् । यहाँ बस्न असुरक्षित भएको हुँदा हामीले केही मानिसहरूलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने देखिन्छ,” उनले थपे।
