कोरोना महामारीबाट प्रभावित प्रत्येक अमेरिकाबासीले पुनः २ हजार डलर राहत रकम पाउने

गणेश थापा

क्यालिफोर्निया, अमेरिका । नोवेल कोरोना भाइरसको महामारीबाट प्रभावित अमेरिकामा बसोबास गर्ने प्रत्येक नागरिकलाई सरकारले पुनः २ हजार डलर बराबरको राहत रकम प्रदान गर्ने भएको छ । संयुक्त राज्य अमेरिका कोभिड १९ बाट विश्वको सवैभन्दा बढी प्रभावित मुलुक हो । महामारीको चपेटामा परेका अमेरिकाबासीलाई तत्कालै पाउने गरी पुनः २ हजार डलर बराबरको राहत चेक वितरण गर्न लागिएको सम्बन्धित अधिकारीहरूले बताएका छन् ।

आफ्ना नागरिकलाई अमेरिकाले यसअघि पनि गत अप्रिलमा १२ सय डलर बराबरको राहत चेक वितरण गरेको थियो । कोरोना भाइरसको संक्रमणका कारण यतिवेला अमेरिकाले संसारकै सवैभन्दा धेरै मानवीय तथा आर्थिक क्षति व्यहोरिरहेको छ । कोरोना संक्रमणबाट यहाँ अहिलेसम्म ३ लाख ४० हजार बढी मानिसको मृत्यु भएको छ भने संक्रमितको संख्या झण्डै २ करोड पुगेको छ ।

समाचार संस्था न्यूजब्रेकका अनुसार आज अमेरिकी संसदको तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स्) बाट भारी मतका साथ पारित ९ सय बिलियन डलर बराबरको राहत प्याकेज सम्बन्धीको उक्त विधेयकमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरिसकेका छन् । अब यो बिललाई अन्तिम निर्णयका लागि माथिल्लो सदन (सिनेट) मा तत्कालै पेश गरिने भएको छ ।

अमेरिकनहरूका लागि ज्यादै आवश्यक रहेको यो आकस्मिक राहत प्याकेजसम्बन्धीको सो विधेयक सिनेटबाट पारित भएलगत्तै कार्यान्वयनको तहमा जाने सिनेटरहरूले बताएका छन् ।

सत्तारूढ दल रिपब्लिकन र विपक्षी डेमोक्रेटिकका सांसदहरूको संयुक्त प्रयासमा ल्याइएको उक्त राहत प्याकेजमा २ हजार डलरको चेक वितरण गर्नेदेखि रोजगार गुमाएकालाई राज्यले दिने वेरोजगारी विमाका अतिरिक्त ३ सय डलरको साप्ताहिक बेरोजगारी भत्ता दिने कुरालाई समावेश गरेको छ भने वेरोजगार विमाको अवधि ११ हप्तासम्म थपिएको छ ।

गत अप्रिलपछिको दोस्रो ठूलो उक्त राहत प्याकेजले कोरोना भाइरसको महामारीबाट प्रभावित साना तथा मझौला व्यापार व्यवसायलाई आर्थिक सहायता प्रदान गर्नेदेखि सर्वसाधारणलाई होमलेस हुनबाट जोगाउनका लागि आवश्यक आर्थिक सहयोग एवम् बालबालिकाको पोषण तथा शिक्षालगायतका विविध पक्षलाई समेटेको बताइएको छ ।

सरकारले यसअघि विभिन्न चरणमा गरी कोरोना भइरसबाट उत्पन्न संकटमोचनका लागि अमेरिकाको इतिहासमै सर्वाधिक तीन ट्रिलियन डलरभन्दा बढी राशीको आर्थिक सहायता प्याकेज ल्याइसकेको छ ।

विधेयकमा राज्यको कर प्रणालीमा आबद्ध भई वार्षिक ७५ हजार डलरभन्दा कम आम्दानी गर्ने प्रत्येक वयस्क मानिसले २ हजार डलरको चेक आपतकालिन राहत स्वरूप पाउने छन् भने कोरोना महामारीका कारण काम गुमाएकाहरूलाई साप्ताहिक ३ सय डलर कम्तीमा १० हप्ताका लागि दिइने कुरा समेटिएको बताइएको छ ।

यद्यपि यो विधेयक चालु संसदको आयु सकिन ठिक ६ दिन बाँकी हुँदा ल्याइएको छ । गत नोभेम्वर ३ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा जो बाइडेन विजयी भएका थिए । उनले जनवरी २० मा राष्ट्रपति पदको सपथ लिदैछन् । हालै विजयी सांसदहरूले जनवरी ३ बाट पदभार समाल्ने छन् ।

यसअघि १२ सय डलरको राहत चेक प्राप्त गर्नेहरू थप यो २ हजार डलरको चेक प्राप्त गर्न स्वत योग्य हुने कुरा उल्लेख गरिएको छ । अमेरिकामा यसअघि काम गुमाएका झण्डै तीन करोड ६० लाख बढी मानिसले आफ्नो रोजगारी गुमेको भन्दै वेरोजगारी बीमाका लागि फारम भरेका थिए । तर, अहिले बजारमा मानिसहरूको चहलपहल बढेको तथा काममा फर्किनेको संख्यामा समेत वृद्धि भइरहेको आदि कारणले गर्दा उल्लेखित वेरोजगार संख्यामा कमी आएको बताइएको छ । अमेरिकाको जनसंख्या ३३ करोड रहेको छ ।

२ लाख नेपालीहरू राहत प्याकेजबाट लाभान्वित हुने

करीव ३ लाख नेपालीहरूको बसोबास अनुमान गरिएको अमेरिकामा झण्डै ५० हजार नेपालीले अमेरिकाको नागरिकता प्राप्त गरेको तथा करीव १ लाखको हाराहारीमा रहेका ग्रीनकार्ड होल्डरसहित अन्य विभिन्न स्टाट्समा रहेका समेत गरी लगभग २ लाख नेपालीहरू यस राहत प्याकेजबाट लाभान्वित हुने एक सामाजिक अभियान्ताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *