गलकोट । बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघाका वडा सदस्य श्याम श्रीस सामाजिक कार्यसँगै कृषि पेशामा समर्पित छन । जनप्रतिनिधिले समृद्धिको मात्र कुरा गर्ने आफूले केही नगर्ने परिपाटी र गुनासो व्याप्त भएको बेला वडा सदस्य श्रीस भने १० वर्षदेखि व्यावसायिक कृषि कर्ममा सक्रिय छन।
श्रीसले व्यावसायीकरूपमै मौरी पालन, बोइलर कुखुरा पालन र तरकारी खेती गर्नुभएको छ । पछिल्लो समय वडा सदस्यमा निर्वाचित भएसँगै उनको व्यस्तता बढे पनि परिवारको सहयोगमा व्यावसायिक कर्म अघि बढाइरहेको उनी बताउछन । गलकोटबाट अधिकांश युवाहरु जापान तथा युरोपका धेरै देशमा गए पनि ३७ वर्षीय श्रीस २२ वर्षको उमेरबाटै कृषि कर्म र कुखुरा पालनमा आकर्षित भएका थिए । एसएलसी उत्तिर्ण गरेपछि व्यावसायिक कृषितर्फ लाग्ने सोच पलायो, गाउँका धेरै युवा विदेश पलायन भए पनि आफूलाई विदेश जाने कहिल्यै मनमा आएन, श्रीसले भने –गाउँमै मेहनत गरेपछि विदेशमा जस्तो आम्दानी स्वदेशमै गर्न सकिने रहेछ ।
बाह्र वर्षअघि घरमा रहेका पाँच मुढेघारबाट व्यवसाय शुरु गरे श्रीसको गलकोट घुम्टे मौरीपालन फर्ममा ७० आधुनिक मौरीका घार छन् । शुरुमा मौरीपालनमा आकर्षित हुनुभएका श्रीसले मौरौपालन शुरु गरेपछि व्यावसायिकरूपमै कुखुरापालन गर्दैआएका छन ।
यही फागुनसम्म १०० घार मौरी पुर्याउने लक्ष्यका साथ अघि बढ्नुभएका श्रीसले दुई वर्षदेखि तरकारी खेतीसमेत गर्दै आएका छन । उनले चार वटा अस्थायी टनेल निर्माण गरी गोलभेँडा, काउली, बन्दालगायतका मौसमी तथा बेमौसमी तरकारी गर्दै आएका छन ।
मौरीपालन मुख्य पेशा हो, आर्थिकरूपमा सबल हुनका लागि कुखुराका साथमा तरकारी खेती गर्दै आएको छु, मौसम राम्रो हुँदा ७०० केजी मह उत्पादन हुन्छ, ७०० कुखुरा फार्ममा कहिलै टुट्दैनन्, उनले भने– यसपटक मौसम अलि राम्रो नभएका कारण रु चार लाखको मात्रै मह बिक्री गरेँ, कुखुराबाट वार्षिक चार लाख हाराहारीमा आम्दानी हुन्छ ।
