एक अर्बको लागतमा पूर्वाधार विकास

काठमाडौं । चालूू आर्थिक वर्षमा काठमाडौँका ११ वटा स्थानीय तहमा गरी ५१६ वटा भौतिक पूर्वाधारका योजना निर्माण हुने भएका छन् । सङ्घ अन्तर्गतको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट २३७ र प्रदेश अन्तर्गतको पूर्वाधार विकास कार्यक्रमबाट २७९ वटा गरी ५१६ वटा पूर्वाधार कार्यक्रम कार्यान्वयन हुन लागेका हुन् । ती पूर्वाधार निर्माणका लागि काठमाडौँका १० वटा र प्रदेशका २० वटा निर्वाचन क्षेत्रबाट योजना छनोट भई धमाधम कार्यान्वयनको चरणमा छन् ।
सबै योजना पूर्ण रूपमा कार्यान्वयन भइसक्दा काठमाडौँँमा ठूला पूर्वाधार निर्माण हुने अपेक्षा गरिएको छ । चालूू आर्थिक वर्षमा काठमाडौँमा सङ्घअन्तर्गत १० वटा निर्वाचन क्षेत्रमा गरी ४० करोड र बागमती प्रदेशअन्तर्गत काठमाडौँँका २० वटा निर्वाचन क्षेत्रमा ६० करोड रुपियाँ गरी एक अर्ब रुपियाँको लागतमा भौतिक पूर्वाधारको काम हुने काठमाडौँको जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारीले जानकारी दिए।
सरकारले सङ्घीय सांसदलाई स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम गर्न चालूू आर्थिक वर्षका लागि प्रतिसांसद चार करोड रुपियाँ र प्रदेशको पूर्वाधार कार्यक्रमका लागि प्रतिसांसद तीन करोड रुपियाँ प्रदान गरेको छ ।
सङ्घअन्तर्गतको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट जिल्ला समन्वय समितिको प्रशासनिक खर्चका लागि १६ लाख र प्रदेश पूर्वाधार कार्यक्रमबाट २४ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।
काठमाडौँ निर्वाचन क्षेत्र १० का सांसद राजन केसीले चालूू आर्थिक वर्षमा निर्माण हुने पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट काठमाडौँमा ठूला पूर्वाधारको विकास हुने विश्वास व्यक्त गरे । उनले भने –न्यूनतम १० लाखभन्दा कमका कुनै पनि योजना छनोट गर्न नपाइने कार्यविधि भएकाले १० लाखभन्दा माथिका योजना सम्पन्न भइसक्दा स्थानीयको मागअनुसारको पूर्वाधार निर्माण हुन्छ ।
काठमाडौँ निर्वाचन क्षेत्र ७ ‘ख’ प्रदेश सभा सदस्य प्रकाश श्रेष्ठले चालूू आर्थिक वर्षमा पूर्वाधार निर्माणमा उल्लेख्य काम हुन लागेको बताए । अहिले योजना छनोट भइसकेकाले अब कार्यान्वयन चरणमा रहेकाले आवश्यक समन्वय सहजीकरण गरिएको उनले बताए । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *