नेकपा विभाजन : प्रदेशमा सकस

काठमाडौं। सत्तारुढ दल नेकपामा विभाजनसँगै प्रदेशहरूमा खटपट बढेको छ। बागमती प्रदेशपछि आइतबार दाहाल–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ। ओली समूहका मुख्यमन्त्री राई भने अन्य दलसँगको सहकार्यमा बहुमत जुटाउने तयारीमा देखिएका छन् ।

मुख्यमन्त्री राईले शनिबार साँझ मात्रै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका थिए। तिनै आङ्बो प्रस्तावक रहेर मुख्यमन्त्रीविरुद्ध प्रदेशसभा सचिवालयमा ३७ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। दाहाल–नेपाल समूहका एक मन्त्री र दुई राज्यमन्त्रीले आइतबार सामूहिक राजीनामा दिएका छन्। जसमा सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जयमाया गजमेर र उद्योग, वन तथा पर्यटन राज्यमन्त्री विजयकुमार विश्वास छन् ।

मन्त्रीको बर्खास्ती, राजीनामा र अविश्वास प्रस्ताव दर्तापछि प्रदेश १ मा कसले बहुमत पुर्‍याउने भन्ने जोडघटाउ सुरु भएको छ। दुवै समूहले भेला र छलफल आइतबारदेखि बाक्लै गर्न थालेका छन् ।

दाहाल–नेपाल समूहबाट मुख्यमन्त्री प्रस्तावित भीमप्रसाद आचार्य आफ्नो पक्षमा अझै सांसद जोड्न र अन्य दललाई फकाउन लागेका छन्। आचार्यले आइतबार विराटनगरमा आफ्नो समूहमा छलफल चलाए। ‘म अहिले मिटिङमा छु, पछि कुरा गरौँला’, घटनाक्रमका विषयमा जिज्ञासा राख्न सम्पर्क गर्दा आचार्यले अन्नपूर्ण पोस्ट्सँग भने ।

ओली पक्षका मुख्यमन्त्री राई अविश्वासको प्रस्तावमा हस्ताक्षर नगर्ने सांसदको विवरण निकाली आफ्नो पक्ष बलियो बनाउन लागेका छन्। उनले अविश्वास प्रस्ताव दर्ता गर्ने समूहले सोचेजस्तो सहजै आफ्नो पक्षमा कम सांसद नरहेको दाबी गरे। ‘त्यति सहजै उहाँहरूको बहुमत पुग्दैन’, उनले भने, ‘म यसको पुष्टि प्रदेशसभा बैठकमा गर्छु ।’

३७ सांसदले मुख्यमन्त्रीले प्रदेशका जनताको अपेक्षाअनुसार काम नगरेको, कोरोना महामारीले पुर्‍याएको क्षतिको मूल्यांकन गरी उचित राहत प्याकेज नल्याएको, महँगा गाडी खरिदमा लागेको, भ्रष्टाचारलाई संस्थागत गर्न लागेको आरोप लगाएका छन्। राजीनामा दिएका र पदमुक्त भएका मन्त्री प्रस्तावका प्रस्तावक र समर्थक बनेका छन् ।

९३ सदस्य रहेको प्रदेशसभामा नेकपाका ६७ जना सदस्य छन्। पार्टी विभाजनपछि दाहाल–नेपाल समूहमा ४८ सदस्य रहेको दाबी सो पक्षको छ। ओली समूहले पनि आफ्नो पक्षमा कम्तीमा २८ सदस्य रहेको दाबी गरेको छ। प्रदेशसभामा कांग्रेसका २१, जसपाका ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सदस्य छन् ।

मुख्यमन्त्री राईले आरामले अविश्वासको प्रस्ताव सामना गर्ने प्रतिक्रिया दिएका छन्। यो प्रस्तावले आफू नआत्तिएको उनले सुनाए। ‘केन्द्रको राजनीतिक गतिरोध र प्रतिनिधिसभा विघटनलाई आधार बनाएर यो प्रदेशमाथि सुनियोजित रूपमा आक्रमण भएको हो’, उनले भने, ‘म यसको सामना आरामले गर्छु ।’

उनले अविश्वास प्रस्ताव प्रदेशमाथिकै आक्रमण भएकाले यसलाई सांसदहरूले केलाएर बुझ्ने र आफूलाई बहुमत सांसदले साथ दिने विश्वास व्यक्त गरे। ‘केही सांसदको हस्ताक्षरले म आत्तिएको छैन। विवेक भएका माननीय सदस्य प्रदेशसभामा हुनुहुन्छ’, उनले भने, ‘यो चालबाजीलाई उहाँहरूले बुझ्नुभएको छ र उहाँहरूको साथ मलाई अवश्य हुन्छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *