अर्वपतिद्वारा माइकल ज्याक्सनको घर खरिद

न्युयोर्क । अमेरिकाका स्वर्गिय पप स्टार माइकल ज्याक्सनको विशाल र भव्य नेभरल्यान्ड फार्म शुरुमा तोकिएको भन्दा एक चौथाई मुल्यमा एकजना अर्वपतिलाई बेचिएको अमेरिकी संचार माध्यमले जनाएका छन् । ज्याक्सनकै पुर्व मित्र रोन बर्कलेले क्यालिफोर्नियाको लस ओलिभोस स्थित यो इस्टेट हालै खरिद गरेको उनका प्रवक्ताले बताएका छन् ।
सरकारी अभिलेख र यस सम्पत्ति बिक्रि सम्झौताका तीन जना जानकार व्यक्तिलाई हवाला दिँदै दि वाल स्ट्रिट जर्नलले नेभरल्यान्ड २ करोड २० लाख अमेरिकी डलरमा बिक्रि भएको पुष्टि गरेको छ । एक हजार एक सय हेक्टर जमिनमा फैलिएको यो इस्टेटको मुल्य सन् २०१५ मा १० करोड डलर राखिएको थियो ।
त्यतिबेला देखि नै सान्टा बारबारा शहरको उत्तरी भागमा रहेको नेभरल्यान्डको मूल्य बजारमा घटबढ हुँदै आइरहेको थियो । गत वर्ष यसको मुल्य ३ करोड १० लाख डलरमा झरेको थियो । ज्याक्सन आफैले सन् १९८७ मा यसलाई १ करोड ९५ लाख डलरमा खरिद गरेका थिए ।
यसै स्थानमा ज्याक्सनलाई बाल यौन दुराचार गरेकोअभियोग लगाइएको थियो । तर उनले आफु माथि लगाइएको अभियोग अस्विकार गरेको थिए । सन् २००५ मा उनले १३ वर्षिय किशोर माथि यौन उत्पीडन गरेको मुद्धामा सफाई पाएका थिए ।
६८ वर्षिय बर्कले एउटा निजी लगानी कम्पनी युकाइपा कम्पनीज , एलएलसिको सह संस्थापक तथा व्यवस्थापन साझेदार हुन् । सन् २०२० डिसेम्वरमा अमेरिकी बिजिनेस म्यागजिन फोर्बेसले प्रकाशित तथ्यांक अनुसार उनको कूल सम्पत्ति १ अर्व ४० करोड डलर रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *