ललितपुर । संसद् विघटनबाट उत्पन्न राजनीतिक अन्योलको लाभ उठाउन राजावादीहरुको सक्रियता बढ्दै गएको पाइएको छ । केही समययता विभिन्न स्थानमा प्रदर्शन गरिरहेका राजावादीहरुको अनेक तह र तप्कामध्ये राजसंस्था पुनःस्थापना संघर्ष समितिले शनिबार ललितपुर मंगलबजारमा बृहत् विरोध सभा ग¥यो ।
पाटन दरबार क्षेत्रमा आयोजित सभामा सर्वसाधारण नागरिकको उपस्थिति अघिपछिभन्दा बढी देखिन्थ्यो । नेपाल भाषाको माध्यमबाट सञ्चालन गरिएको सो समितिले यसपटक कोरोना महामारीको नाउँमा काठमाडौं उपत्यकाको संस्कृति लोप गर्न लागिएको, धर्म संस्कृतिमाथि लगातार प्रहार भइरहेको नारा दिएका थिए । विशेषतः गत भदौ १७ गते रातो मच्छिन्द्रनाथ तान्ने क्रममा भएको ललितपुरको पुल्चोक, गाबहाल र नटोलमा भएको झडप र प्रशासनले रोक लगाएको विषयलाई गणतान्त्रिक राज्यव्यवस्थाको धर्म संस्कृति मास्ने कदमको संज्ञा दिइएको थियो ।
मुलुकको भविष्य अन्योल र अराजकतर्फ बढ्दै जानुमा राजनीतिक दलहरुको सत्तालिप्सासँगै गणतान्त्रिक व्यवस्था मुख्य कारण रहेको भन्दै राजावादीहरुले निरन्तर सडकमा ओलिर्ने उद्घोष गरेका छन् । समितिले अर्को साता बृहत् जुलुस निकाल्ने सो अवसरमा बताएका छन् । सर्वसाधारण जनताले भोग्नुपरेका सम्पूर्ण समस्या, चिन्ताको मुख्य जड भनेको राजनीतिक दलका सीमित नेताहरुको आफू नै मुुलुकको राजा हुँ भन्ने सोचको उपज रहेको पनि विरोधसभाका वक्ताहरुले बताएका छन् ।
‘कोरोना महामारीले गर्दा जनता छटपटाइरहेका छन् । गरिबी र बेरोजगारले जनता मारमा परेका छन् । नागरिकका समस्याप्रति सरकार र राजनीतिक दलहरु संवेदनहीन छन् । यत्रो महामारीको बेलामा पनि भ्रष्टाचारमा सरकार लिप्त भएका छन् ।’ यी सबै समस्याको समाधानका लागि जनता सडकमा उत्रिएर राजासहितको लोकतन्त्र स्थापना गर्नुबाहेकको विकल्प मुलुकसामु नभएको पनि समितिका संयोजक विश्वन्तर शाक्यले बताए ।
एकको ठाउँमा सयौं राजा भएर नेताहरुले राज्यको दोहन गरेका छन् । यसको अन्त्यका लागि राजासहितको लोकतन्त्रको खाँचो छ । मुलुकको कार्यकारी प्रमुख जननिर्वाचित हुनुपर्ने व्यवस्थाका लागि संविधान संशोधन गर्नुपर्ने धारणा पनि समितिले अघि सारेको छ ।
‘राष्ट्रहितभन्दा पनि सधैं आफू पहिला आबद्ध दलको आन्तरिक विवादमा रुचि राख्ने राष्ट्रपति विद्यादेवी भण्डारीको समग्र आचरणले गणतन्त्र देश र जनताको लागि अफापसिद्ध रहेको पुष्टि गरेको छ । यत्रो कोरोना महामारीको बेला संवेदनहीन हुने राष्ट्रपति देश र जनताका लागि के काम, त्यसकारण राजसंस्था पुनःस्थापना गर्नुको विकल्प छैन’ –शाक्यले भने ।
रातो मच्छिन्द्रनाथको जात्रामा कफ्र्यु लगाउन, निषेधाज्ञा जारी गर्न आदेश दिने राज्यप्रशासनले नेताहरुका जुलुस, भेलामा मूकदर्शक बन्ने गरेको उल्लेख गर्दै संयोजक शाक्यले गणतान्त्रिक व्यवस्थाको नाउँमा धर्मसंस्कृति समाप्त गर्न खोजेको आरोप लगाए । राजसंस्था रहँदा उपत्यकाको धर्म संस्कृतिको संरक्षण गर्दै आएको र गणतान्त्रिक व्यवस्थामा त्यसलाई मास्न खोजेकोलगायत लेखिएको प्लेकार्डहरु राखेर प्रदर्शन गरिएको थियो । नेपाल समाचारपत्रबाट
राष्ट्रपतिलाई हटाएर राजा राख्न माग
