नागरिकमैत्री बनाउन सूचना पारदर्शी गर्न गुरुङको आग्रह

बनेपा । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले नागरिकमैत्री नगर बनाउनका लागि सूचना पारदर्शी गर्न आवश्यक रहेको बताएका छन ।

राष्ट्रिय सूचना आयोगको आयोजना तथा नमोबुद्ध नगरपालिकाको समन्वयमा शुक्रबार काभ्रेपलाञ्चोकको भकुण्डेबेँशीमा आयोजना गरिएको स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, समुदाय र समूहका लागि ‘सूचनाको हकसम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा उहाँले नागरिकले मागेको सूचना उपलब्ध गराउनु नगरको दायित्व भएको बताए । सूचना मागेको कारणबाट नभई पारदर्शिता होस् भन्ने हिसाबबाट पनि कहिलेकाहीँ राष्ट्रिय सूचना आयोगले आदेशसमेत गर्ने गरेको उनको भनाइ छ । सूचना दिएर बिग्रने होइन, मागेपछि दिनुपर्छ, उनले भने– सूचना दिनु भनेको हामीले गरेको काम नागरिकले परीक्षण गर्ने अवस्था सिर्जना गर्नु हो, त्यो अवसर नागरिकलाई दिनुपर्छ ।

नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद तिमल्सिनाले नगरपालिकामा जो कोहीले सूचना माग्न आए पनि आधा घण्टाभित्रमा अवस्थाअनुसार सूचनाको उपलब्धतालाई छिटो र सहज बनाउन सूचना अधिकारीलाई निर्देशन दिएको बताए । सो क्रममा उहाँले आगामी दिनमा सूचनाको हकसम्बन्धी कार्यक्रम सञ्चालन गर्न नीति तथा कार्यक्रममा बजेटको व्यवस्थासमेत गर्ने प्रतिबद्धता व्यक्त गरे । आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले नागरिकलाई आफूले तिरेको कर कहाँ कसरी खर्च भयो भन्ने जानकारी पाउने अधिकार भएकाले सूचनाको हकलाई सुनिश्चित गर्न आग्रह गर्नुभयो । सूचनाको हकसम्बन्धी व्यवस्थाले सरकारलाई पारदर्शी र उत्तरदायी बनाउने उनको भनाइ छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नागरिकलाई सूचनाको हक प्रदान गर्न सधैँ तयार रहेको बताए । माग गरेको सूचना प्रदान गर्नका लागि सूचना अधिकारीको समेत व्यवस्था गरेको बताउँदै उनले सूचनाको हकको सम्मान गर्दै नेपाली र स्थानीयस्तरमा बढी बोलिने तामाङ भाषामा ध्वनिसहितको नागरिक बडापत्रको व्यवस्था गरिएको बताउनुभयो । सबै वडा कार्यालयमा योजनाको विवरण पारदर्शीरुपमा राखिएको र वार्षिक कार्यक्रमको पुस्तिका सबैको पहुँचमा पुग्ने गरी सार्वजनिक गरिएको उनले बताए । सो कार्यक्रममा आयोगका सचिव डा मुकुन्दप्रसाद पौड्याल र उपसचिव कपिलप्रसाद उपाध्यायले सूचनाको हकका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *