जापानका प्रधानमन्त्री योशिहिडे सुगाले जापानमा संकटकाल लगाउन आवश्यक नभएको बताएका छन् । कोरोनाभाइरसको महामारी फैलिन रोक्न जापानमा संकटकाल लगाउने वा नलगाउने भन्ने चर्चा चलिरहेका समय प्रधानमन्त्री सुगाले शुक्रबार देशव्यापी संकटकालको आवश्यकता नभएको बताएका हुन् ।
राजधानी टोकियोलगायतका सहरहरूमा कोरोनाभाइरसको महामारी बढीरहेका बेला उनका भनाइलाई महत्वका साथ लिइएको छ । सन् २०२० को अन्तिम पत्रकार सम्मेलनमा उनले कोरोना महामारी नियन्त्रणसम्बन्धी विज्ञहरूको उच्चस्तरीय टोलीले आफुलाई अव संकटकालको आवश्यकता नरहेको बताएको जानकारी दिए । उनीहरुको सुझाबकै कारणले अहिले आफु संकटकाल घोषणा गर्ने तयारीमा नरहेको पनि प्रधानमन्त्री सुगाले स्पष्ट पारे ।
उनले क्रिसमस र नयाँ बर्ष मनाउने क्रममा जापानमा रहेकाहरुले शान्तिपूर्वक र सतर्कता पूर्वक मनाउने विश्वास पनि व्यक्त गरे । घरभित्र पारिवारिक जमघटबाहेक अन्य भिडभाड उनीहरुले नगर्ने अपेक्षा पनि प्रधानमन्त्री सुगाले व्यक्त गरेका छन् ।
“कृपया भेटघाट र भिडभाडलाई नियन्त्रण गर्नुहोला, त्यस्तोमा सकेसम्म संलग्न नहुनु होला, त्यति गर्नासाथ कोरोनभाइरसको महामारी धेरै कम हुन्छ,” उनले भने । प्रतिवन्धात्मक व्यवस्था र आधारभूत स्वास्थ्य मापदण्ड पालना गर्दै निश्चित अवधिका लागि मात्रै व्यापारिक प्रतिष्ठानहरु खोल्न अनुमति दिइएको छ ।
राजधानी टोकियोमा मात्रै दैनिक नौ सयको हाराहारीमा नयाँ सङ्क्रमित थपिने गरेका छन् । शुक्रबार अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित देखिएका छन् ।
जापानका कोरोनाभाइरसबाट अहिलेसम्म दुई लाख १४ हजार ५१४ जना सङ्क्रमित भएका छन् । ती मध्ये तीन हजार ७९२ जना पछिल्लो २४ घण्टामा थपिएका हुन् ।
