काठमाडौँ । चीनर्फको नाका प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा नेपाली व्यवसायीले दुःख पाएको भन्दै नेपाल चेम्बर अफ कमर्शले गुनासो गरेको छ ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले एक वर्षदेखि चिनियाँ नाकामा व्यवसायीका सामान अड्किएको बताए । उनले व्यापार सहजीकरण गर्न चीनलाई आग्रह पनि गरेका हुन् ।
कोरोनाको बाहनामा चीनले नेपालसँगको व्यापारमा दोहोरो चरित्र देखाएको भन्दै उनले नाका खोलिएको भनिए पनि बन्द रहे सरहनै भएकाले व्यवसायीले दुःख पाउनुपरेको स्पष्ट पारे । ‘कोरोनाको बहानामा चीनले नेपालसँगको व्यापारमा दोहोरो चरित्र देखायो’, अध्यक्ष श्रेष्ठले भने, ‘कि नाका बन्द गरोस् कि व्यापार सहज बनाओस् ।’
करोडौँ मूल्य बराबरको सामान चीनतर्फको नाकामा कुहिन लाग्दा व्यवसायी ब्याजको मारमा पनि परेको अध्यक्ष श्रेष्ठको भनाइ छ । ‘पोहोर साल जाडोका लागि व्यवसायीले किनेको ज्याकेट अझै नाकामै थन्किएको छ, यस्तो तरिकाबाट कसरी दुई देशबीचको व्यापार चल्छ ?’ उनले प्रश्न गरे ।
देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले आर्थिक विकासका मुद्दा ओझेलमा पर्न लागेको भन्दै उनले आर्थिक मुद्दा नछोड्न आर्थिक पत्रकारहरुलाई आग्रह गरे । कोभिडका कारण समस्यामा परेका व्यवसायीलाई सकारात्मक ऊर्जा चाहिएको बेला राजनीतिक अन्यौल बढ्दा व्यवसायीमा चिन्ता थपिएको उनको भनाइ छ ।
