काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा औपचारिक रुपमा हस्ताक्षर बुझाएको छ।
दलको आधिकारिकताका लागि अध्यक्ष प्रचण्ड, नवनियुक्त अध्यक्ष नेपाल, वरिष्ठ नेता झलनाथ खनालले आफ्नो समूह लिएर कान्तिपथस्थित आयोगको कार्यालय पुगेर आधिकारिक हस्ताक्षर बुझाएको हो ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार केन्द्रीय कमिटीका २९७ जनाको हस्ताक्षर आयोगलाई बुझाइएको छ । हस्ताक्षर बुझाउदै प्रचण्डले बहुमत केन्द्रीय सदस्यहरू आफूसँग भएको र आवश्यक परे स–शरीर निर्वाचन आयोगमा उपस्थित हुने बताए ।
प्रचलित कानून र विगतका नजिर हेरेर आयोगले आधिकारिकता, चुनाव चिह्न निश्चय गर्नेछ भन्ने विश्वास रहेको उनले बताए । जवाफमा निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकप)को आधिकारिकता विवादमा न्यायोचित निर्णय गर्ने बताएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएको अवधि अगावै विवादको निरुपण गर्ने विश्वास दिलाए । दलको आधिकारिकताबारे छिट्टै निर्णय हुन्छ भन्ने आश्वासन दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रचण्ड नेपाल समूह दलबलसहित निर्वाचन आयोग पुगेको थियो ।
प्रचण्ड नेपाल पक्षको बिहीबार बसेको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन घोषणा गरेको थियो ।

