काठमाडौं । प्रचण्ड–नेपाल समूहका तीन नेता मदन नगर बल्खुस्थित पार्टी कार्यालय पुगेर कम्युनिष्ट एकताको सन्देश दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल केन्द्रीय समिति बैठक सम्पन्न भएलगत्तै बल्खु पुगी मदन भण्डारीको शालिकमा माल्यार्पण गरी कम्युनिष्ट एकताप्रति प्रतिवद्धता जनाएका हुन् ।
उनीहरुले आफूहरुनै वास्तविक नेकपा भएको भन्दै सबै कमीकमजोरी सच्याएर एकतावद्ध हुन सबैलाई आव्हान गरेका छन् । पार्टी अध्यक्ष प्रचण्डले लोकतन्त्र र गणतन्त्र विरुद्धको षड्यन्त्रको रुपमा असंवैधानिक तरिकाले संसद विघटन गरिएकोले त्यस विरुद्ध कम्युनिष्ट एकता आवश्यक रहेको बताए ।
उनले अहिलेसम्म कम्युनिष्टहरुले प्राप्त गरेका उपलब्धिका विरुद्धको षडयन्त्रको रुपमा संसद विघटनलाई लिईएको भन्दै त्यसलाई सफल हुन नदिने बताए । अर्का अध्यक्ष माधवकुमार नेपालले नेपाली जनतालाई प्रतिनिधिसभाको विघटन विरुद्धमा एकजुट हुन आग्रह गरे ।

