काठमाडौं । सरकारले संसद् विघटन गरेसँगै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी एकीकरण भएको साढे दुई वर्षमै विभाजित भएको छ । २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा गठन भएको थियो । तर पार्टी एकताको कामले पूर्णता नपाउँदै संसद् विघटन प्रकणले समानान्तर केन्द्रीय कमिटीको बैठक गर्दै दुवै समूहले औपचारिक विभाजनको सन्देश दिएका छन् । संसारमै तेस्रो ठूलो कम्युनिस्ट पार्टी बनेको नेकपा आन्तरिक विवादका कारण विभाजितको बाटोमा पुगेको हो ।
मंगलबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली समूह र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड–वरिष्ठ नेता माधव कुमार नेपाल समूहले छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक राखेर पार्टीमा आ–आफ्नै वैधता रहेको दाबी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको भेलाले प्रचण्ड–नेपाल समूहको बैठकले वैधानिकता नपाउने दाबी गरेको छ भने यता प्रचण्ड नेपाल पक्षले बहुमत केन्द्रीय सदस्य आफूहरुको पक्षमा रहेको दाबी गर्दै बालुवाटारको भेलाको अर्थ नभएको बताएको छ ।
दुवै समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकताको बारेमा पत्राचारसमेत गरिसकेका छन् । संसद् विघटन गरेपछि सोमबार नै प्रचण्ड–नेपाल पक्षले स्थायी समिति बैठकले गरेको निर्णयअनुसार अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरेको पत्र निर्वाचन आयोगलाई बुझाएको थियो । मंगलबार बसेको ओली पक्षको केन्द्रीय समितिको बैठकले केन्द्रीय कमिटीको पुनर्गठन गरेको पत्र निर्वाचन आयोगमा बुझाएको छ । नेकपाभित्र कुन समूहले वैधानिकता पाउने भन्ने विवाद निर्वाचन आयोगमा पुगेको छ ।
नेकपाको ओली समूहले पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओलीले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा बोलाउनुभएको थियो । बैठकमा उहाँले प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीयमा ५ सय ५६ थपेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्तावलाई बैठकमार्फत अनुमोदन गराउनुभएको छ । त्यसै गरी पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउँदै नयाँ प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ ।
बैठकले पुस ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाउने निर्णय गरेको छ । योसँगै ओली पक्षको भेलाले नेकपाको कुल केन्द्रीय सदस्यको संख्या ११ सय ९९ बनाउने निर्णय गरेको छ । हाल नेकपामा ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटी रहेको थियो । भेलाले तत्कालै ५ सय ५६ जना केन्द्रीय आयोजक समिति थपिएको र रिक्त रहेका १ सय ९६ जना पछि थप्ने बताएको छ । मनोनित सदस्यहरुलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले शपथग्रहण गराएका छन ।
विस्तार गरिएको केन्द्रीय कमिटीमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठलगायत सबै केन्द्रीय सदस्यहरू यथावत् राखिएको छ । तर श्रेष्ठलाई प्रवक्ताबाट हटाएर प्रदीप ज्ञवालीलाई दिइएको छ । भेलामा पूर्वमाओवादी पक्षबाट टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पनि सहभागी भएका थिए ।
नेकपा ओली समूहको केन्द्रीय कमिटीबाट प्रवक्ताको जिम्मेवारी पाएका प्रवक्ता ज्ञवालीले पार्टी अध्यक्ष, महासचिव र माइन्युटविनाको बैठकले गर्ने निर्णयले वैधानिकता नपाउने बताएका छन । बालुवाटारमा सम्पन्न बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले प्रचण्ड–माधव नेपाल पक्षधर केन्द्रीय कमिटी बैठकको वैधानिकता नहुने दाबी गरे । ‘पार्टीको अध्यक्ष, महासचिव र माइन्युटविना पनि बैठक बस्छ र भन्ने प्रश्न गर्दै प्रवक्ता ज्ञवालीले भने – ‘त्यस्तो बैठकको निर्णयको कुनै वैधानिकता हुने कुरै भएन । नेकपा विभाजित र विघटन भएको छैन, बैठकको निर्णयको वैधानिकतामा कसैको प्रश्न भए निर्वाचन आयोगले निरुपण गर्छ ।’
यसैबीच प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै नेकपाले ओलीलाई अध्यक्षबाट बर्खास्त गर्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई नयाँ अध्यक्ष बनाउने निर्णय गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नेपाल समूहको बहुमत केन्द्रीय सदस्यको भेलाले नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेस गर्नुभएको थियो । सो प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो ।
त्यसै गरी प्रचण्ड–माधव नेपाल समूहले बोलाएको नेकपा केन्द्रीय कमिटी बैठकमा दुई तिहाइ बढी केन्द्रीय सदस्यको सहभागिता रहेको दाबी गरिएको छ । बैठकस्थलमा राखिएको केन्द्रीय सदस्यहरुको हस्ताक्षरपुस्तिकामा ३ सय १० जना केन्द्रीय सदस्यको नामावली रहेको छ । यो भनेको नेकपाको आधिकारिक केन्द्रीय सदस्य संख्याको दुई तिहाइ बढी हो । हाल नेकपामा ४ सय ४६ जनाको केन्द्रीय सदस्य रहेकोमा केही पद रिक्त रहेको छ । नेपाल समाचारपत्रबाट
नेकपाको विवाद निर्वाचन आयोगमा
