काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले २०७८ मंसिरमा पार्टी महाधिवेशन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समूहको बैठकले पार्टीको नयाँ महाधिवेशन मंसिर २ गतेदेखि ७ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो । यसअघि माघमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकले ०७७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । बैठकमा ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् ।
अहिले कायम रहेको ४४७ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेलाई ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटी बनाइएको ओलीले जानकारी दिए । रिक्त रहेका १९६ जना पछि थपिने बताइएको छ ।
उक्त कमिटीको बैठक पुस ९ गते बस्ने भएको छ । बैठकमा ओलीले आयोजक सदस्यहरुलाई सपथ खुवाएका थिए । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल पक्ष बाहिरबाट परिचालित भएर बेग्लै संसारमा रमाउन खोजेको अरोप लगाए । उनले प्रचण्ड–नेपाल भन्दा आफू धेरै अघि कम्युनिष्ट आन्दोलनमा होमिएको दावी गरे ।
ओलीले प्रचण्ड–नेपालले आफूलाई कारवाही गर्ने गर्ने जानकारी पाएको भन्दै कारवाही गरेर देखाउन चूनौति दिए । ओलीले सरकार पार्टीलाई काम गर्न नदिएको, महाअभियोग लगाउने, अविश्वासको तयारी भएको आरोप लगाए । ओली पक्षले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको छ ।
