काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि ‘कू’ गरेको बताएका छन् ।
आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेलगत्तै छलफलका लागि बालुवाटार पुगेका कार्यकारी अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्रीले संघीय गणतन्त्रमाथि ‘कू’ गर्नुभयो’, प्रचण्डको भनाइ उद्धृत गर्दै उनका प्रेस संयोजक विष्णु सापकोटाले भने । उनले प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग भेट्न नमानेको पनि जनाकारी दिए ।
प्रधानमन्त्री ओलीको निर्णय असंवैधानिक, अमर्यादित र अराजकः वरिष्ठ नेता नेपाल
सत्तारूढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक, अमर्यादित र अराजक भएको बताएका छन् । पार्टी विवाद चरमोत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठकमार्फत संसद विघटको सिफारिस गरेकोमा कडा आपत्ति जनाउँदै नेता नेपालले ओलीको उक्त कदम ‘अराजक’ भएको बताएका हुन् ।
ओलीको यो कदमले लोकतन्त्रमाथि नै प्रहार गरेकाले अझै पनि पार्टीमा आवश्यक छलफल गरेर अघि बढ्ने उनले बताए । ओलीले यो सिफारिस तत्काल फिर्ता गर्नुपर्ने पनि उनले माग गरेका छन् ।
