काठमाडौँँ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको सिफारिसलाई असंवैधानिक भन्दै यसको प्रतिवाद गर्ने बताएको छ । संसद विघटनको सिफारिशलगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको कदम असंवैधानिक भएकाले नेपाली कांग्रेसले राजनीतिक रूपमा प्रतिवाद गर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीको कदमलाई नेपाली कांग्रेसले राजनीतिकरूपमा प्रतिवाद गर्दै संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हुने उल्लेख गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीमा अधिनायकवादी आकांक्षा रहेको र त्यसलाई विफल बनाइने दृढता पनि देखाएका छन् ।
शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “प्रधानमन्त्रीको कदमलाई नेपाली कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्नेछ । संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हौं । अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने छ..।”
लाेकतन्त्र र राष्ट्रहितविपरितः वरिष्ठ नेता पाैडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेको संसद विघटनको सिफारिस संविधानविपरीत भएको भन्दै यसले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने बताएका छन् । ‘मन्त्रिपरिषदबाट संसद विघटनको सिफारिस भएको सूचना प्राप्त भएको छ’, सामाजिक सञ्जाल फेसबुकमा पौडेलले भनेका छन्, ‘यो संविधान विपरीत छ, लोकतन्त्रको मर्मविपरीत छ र राष्ट्रहितविपरीत छ।’
नेता पौडेलले अहिलेको संविधानअनुरुप विघटन गर्न मिल्ने प्रावधान नभएकोले राष्ट्रपतिले यसलाई स्वीकार गर्न नहुने र फिर्ता नै गर्नुपर्ने उल्लेख गरेका छन् । पौडेलले भनेका छन्, ‘म यस्ता मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकट तर्फ धकेल्ने गैर लोकतान्त्रिक कदमको घोर भर्त्सना गर्दछु ।’
यसैगरी, कांग्रेस नेता मीनेन्द्र रिजालले संसद विघटनको सिफारिशलाई असंवैधानिक भन्दै बहुमतबाट अर्को प्रधानमन्त्री चुनिने अवस्था रहँदासम्म संसद विघटन हुन नसक्ने बताएका छन् । प्रधानमन्त्री ओलीले संविधान विपरितको कदम चालेको भन्दै उनले प्रधानमन्त्रीले बहुमत गुमाएपछि सत्तावादी राजनीतिका लगि संविधान मिच्न थाल्नु भएको टिप्पणी गरे ।
प्रधानमन्त्री केपी ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिश गरेका हुन् ।
याे पनि पढ्नुहाेस्
संसद विघटन, बैशाख १५मा निर्वाचनको सिफारिस लिएर प्रधानमन्त्री ओली शितलनिवासमा
