संसद विघटन, बैशाख १७ र २७ मा निर्वाचनको सिफारिस लिएर प्रधानमन्त्री ओलीले भेटे राष्ट्रपति भण्डारी

काठमाडौँ । संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको थियाे । सरकारले २०७८ साल १७ र २७ वैशाखमा निर्वाचन गर्न सिफारिस गरेकाे बताइएकाे छ ।

आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकलेसंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए । यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो ।

तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए । तर प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *