अन्नपूर्णमा पहिलो पटक पुगे चिकित्सक

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलो पटक चिकित्सक पुगेका छन् । गाउँपालिकाले नारच्याङमा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि चिकित्सक नियुक्त गरेको हो ।
यही पुस १ गतेदेखि लागू हुने गरी डा ज्योति पन्थीलाई नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले जानकारी दिए ।

“कोभिड अस्पताल सञ्चालन गर्नका लागि चिकित्सकसहित दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी नियुक्त गरेका छौँ”, उनले भने– कोरोना अस्पताल सञ्चालनको तयारी गरेका छौँ ।”

नियमित बसेर सेवा दिने गरी चिकित्सक आएको पहिलो पटक भएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । नारच्याङस्थित नेपाली सेनाले प्रयोग गरेको भवनमा पाँच शय्या क्षमताको कोरोना अस्पताल सञ्चालन गर्न पूर्वाधार र सामग्री व्यवस्थापन गरिएको छ ।

कोरोनाका बिरामी नभएको अवस्थामा चिकित्सकलाई गाउँगाउँमा लगेर बिरामी पहिचान, उपचार र स्वास्थ्य सचेतना फैलाउने गाउँपालिकाको तयारी छ । पहिलो पटक गाउँपालिकामा चिकित्सक आएकोमा स्थानीयवासी खुसी भएका छन् । कोरोना अस्पताल सञ्चालन गर्न अन्नपूर्ण र मालिका गाउँपालिकाले मात्र चिकित्सक पाएका छन् ।
मङ्गला, धवलागिरि र रघुगङ्गा गाउँपालिकाले स्टाफ नर्स नियुक्त गरे पनि चिकित्सक पाएका छैनन् । कोरोना अस्पताल स्थापना र सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै पालिकालाई १० लाखका दरले बजेट पठाएको थियो ।

आवश्यक मेडिकल बेड, बिस्तारा, अक्सिजन लगायतका औजार र औषधिको समेत व्यवस्था गरिएको छ । मन्त्रालयले चार लाख ५० हजार तलब, ५० हजार औषधि र पाँच लाखको शय्यासहितका सामग्री किन्न शीर्षक तोकेर बजेट पठाएको हो ।

यसैबीच अन्नपूर्ण गाउँपालिकाले वडा नं १ दोवामा अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गरेको छ । स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको १२ रोपनी ७ आना २ दाम क्षेत्रफलको जग्गामा अस्पताल बनाउन जिल्लास्तरीय जग्गा मूल्याङ्कन समितिले निर्णय गरेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सिफारिस गरेको हो ।

दोवाका वडाध्यक्ष दिलीपकुमार गर्बुजाका अनुसार नौप्रसाद पुर्जाले एक रोपनी ३ पैसा, यादवबहादुर गर्बुजाले एक रोपनी ८ आना, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, अमरबहादुर गर्बुजाले पाँच रोपनी ४ आना, घमती पुर्जाले १३ आना, कर्णबहादुर पुर्जाले दुई रोपनी २ आना र टीकाबहादुर पुर्जाले साढे २ आना जग्गा निःशुल्क उपलब्ध गराएका छन ।

यसैगरी औलामा प्राथमिक स्वास्थ्य केन्द्र सरहको भवन निर्माणका लागि हाल हिस्तान स्वास्थ्य चौकीको भवन परिसरमा स्थानीयवासीले उपलब्ध गराएको जग्गा छनोट गरिएको छ । स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष कुमबहादुर पुर्जाले पाँच जनाले पाँच रोपनी जग्गा उपलब्ध गराएको जानकारी दिए। हर्कबहादुर गर्बुजाले दुई रोपनी १२ आना, हर्कराज पुर्जाले १४ आना, सिरप्रसाद पुर्जा पुनले १५ आना, शेरबहादुर पुर्जा र प्रेमशोभा पुर्जाले एक रोपनी जग्गा उपलब्ध गराएका छन । हाल पाँच रोपनी क्षेत्रफल रहेको स्वास्थ्य चौकीको भवन परिसरमा रहेको थप पाँच रोपनी जग्गा प्राप्त भएको पुर्जाले बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजना कार्यान्वयन इकाइ (भवन) बागलुङका प्रमुख उमेश चौधरीले स्वास्थ्य मन्त्रालयको सिफारिसअनुसार स्तरोन्नति हुने स्वास्थ्य चौकीको भवन विस्तार गर्न लागिएको बताए । जग्गा प्राप्ति प्रक्रिया पूरा भएपछि डिजाइन तयार पारेर ठेक्कामार्फत भवन बनाउने उनले बताए ।

विसं २०७२ को भूकम्पले स्वास्थ्य चौकीको पुरानो भवन जीर्ण बनाएको थियो । गत वर्ष शहरी आवास तथा भवन निर्माण सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले ठेक्कामार्फत एक करोड ३१ लाखको लागतमा सुविधा सम्पन्न भवन निर्माण गरेको थियो । दुई तले भवनको भुइँतला स्वास्थ्य चौकीको सेवा प्रवाह र प्रशासनिक कक्ष तथा माथिल्लो तलामा दुई परिवारका लागि आवास कोठा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *