काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले राष्ट्रपति कार्यालयले नेकपा सांसदको निवेदन दर्ता नगरेर मुलुकलाई दुर्घटना हुनबाट जोगाएको दावी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा यादवले संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै सत्तारुढ नेकपाकै ८३ जना सांसदहरुको निवेदन दर्ता नगरेर मुलुकलाई ठूलो राजनीतिक संकट र दुर्घटनाबाट बचाएको दावी गरे ।
८३ जना सांसदको हस्ताक्षरसहितको निवेदन दर्ता गरेको भए मुलुकमा राजनीतिक दुर्घटना हुने यादवको दाबी छ । उनले राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिशअनुसार काम गरिरहेको र संविधानको दायराभित्रै रहेर काम गरेको स्पष्ट पारे ।
राष्ट्रपतिलाई दलका नेताहरु भेट्न जानु नौलो कुरा नभएको भन्दै उनले यसलाई तर्क बितर्कमा व्याख्या गर्न नहुने बताए । यादवले अहिलेको संविधान लामो समयको संघर्ष र बलिदानीबाट आएको सुनाउँदै यसको रक्षाको लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
