सभामुख सापकोटाविरुद्धको मुद्दा आजको पेसीमा

काठमाडौं । सर्वोच्च अदालतले सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको मुद्दा पेसीमा चढाएको छ । सापकोटाविरुद्ध काभ्रेकी पूर्णिमाया लामा, सुशील प्याकुरेल लगायतले २०६८ असार ६ गते दर्ता गरेको निवेदन सुनुवाइको पेसीमा चढेको हो ।

हालसम्म यो मुद्दा १९ पटकसम्म सुनुवाइको पेसी तोकिएको छ। सभामुख सापकोटाविरुद्धको मुद्दा अन्तिम पटक ०७६ फागुन ३० गते पेसीमा चढेको थियो । उक्त दिनमा हेर्न नभ्याउने भन्दै मुद्दाको सुनुवाइ सरेको थियो ।

२०७२ चैत २२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो । संवैधानिक इजलासमा सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला दायर भएको सहित तीन वटा मुद्दा रहेका छन्।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिटमा अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन छ ।

२०६९ मंसिर ११ गते न्यायाधीश वैधनाथ उपाध्यायको इजलासले अन्तरिम आदेश जारी गरेपछि उक्त मुद्दामा सुनुवाइ हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *