मनाङ । देशैभरि कोरोना सङ्क्रमण फैलिएको बेला मनाङमा भने सङ्क्रमितको सङ्ख्य शून्य थियो । सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा मनाङमा आज कोरोना सङ्क्रमण देखिएको छ । जिल्लामा सङ्क्रमण न्यूनीकरणका लागि सरकारी कर्मचारी र स्थानीय बासिन्दाबाहेक मनाङ प्रवेश गर्न ७२ घण्टाको नेगेटिभ पिसीआर अनिवार्य गरिएको छ ।
हालसम्म मनाङमा २८२ जनाको स्वाब सङ्कलन भएकामा १० जनाको कोरोना पोजेटिभ देखिएको जिल्ला स्वस्थ्य प्रमुख बद्री आचार्यले जानकारी दिए । उनका अनुसार नौ जना सङ्क्रमित निको भएसँगै मनाङ शून्य रहेको हो ।
शून्य भएको धेरै दिनपछि आज एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ज्वरो, रुघाखोकीका कारण लमजुङ सदरमुकाम बेसीँशहरमा उपचार गराइरहेका नासो गाउँपालिकाका ५८ वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको हो । उनको उपचारकै क्रममा लमजुङबाट नै स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको छ ।
