काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोभिडको असर भएपनि झण्डै ६० प्रतिशत वित्तीय र भौतिक प्रगति भएको दावी गरेका छन् ।
बिहीबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकमा उनले कोरोना महामारीका बीच पनि पुल, कालोपत्रे, ग्राभेल र माटे गरी तीनै किसिमका सडक निर्माण भएको बताए । उनले तीन/चार वर्षयता भौतिक पूर्वाधारका क्षेत्र विस्तार भइरहेकाले त्यसअनुरुप स्रोतसाधन र आवश्यक जनशक्ति नभएकाले समस्या देखिन थालेको उल्लेख गरे ।
हुलाकी राजमार्ग र मध्यपहाडी राजमार्ग दुवै राष्ट्रिय गौरवका आयोजना आर्थिक वर्ष २०७९÷८० सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको मन्त्री नेम्वाङले जानकारी दिए । हुलाकी राजमार्गका विभिन्न स्थानमा रहेका पुलको समस्या र मध्यपहाडीमा गोरखालगायतका जिल्लामा रहेको ‘एलान्मेन्ट’ समस्याको समाधान खोजिएको उनले बताए ।
बैठकले राष्ट्रिय प्राथमिकताका आयोजनालाई गुणस्तरयुक्त र समयमा सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको समिति सचिव ओमबहादुर कार्कीले जानकारी दिए ।
बैठकमा समिति सभापति कल्याणीकुमारी खड्काले कागजी प्रक्रिया नै लामो हुनु पनि आयोजना समयमा नसकिनुको कारण बनिरहेको बताइन् । सांसदहरुले राष्ट्रिय प्राथमिकतामा परेका आयोजना सम्पन्न हुन लामो समय लाग्दा लागत बढेको र जनताले दुःख पाइरहेको बताएका थिए ।
