नेपालमा अझै लगानीको वातावरण बन्न सकेनः चौधरी

काठमाडौं । नेपाली काँग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले नेपालमा अझै लगानीको वातावरण बन्न नसकेकाले सरकार र सरोकारवाला निकायका बीचमा उपयुक्त विधि खोजी गर्नुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार आयोजना गरेको ‘अर्थनीति बहस’ मा उनले सरकारले निजी उद्योगी व्यवसायीलाई हेर्ने सोचमा अझै परिवर्तन गर्नुपर्ने र लगानीको वातावरण बनाउनुपर्ने बताएका हुन् ।

नेपालमा लगानी ल्याउन चाहने र नयाँ सोच भएका युवा उद्यमशील बन्ने चाहना राखेको भए पनि उपयुक्त वातावरण बन्न नसकेको उल्लेख गर्दै चौधरीले आर्थिक क्षेत्रका विकासका लागि फराकिलो सोच जरुरी रहेको स्पष्ट पारे ।

निजी औद्योगिक क्षेत्रको विकासका लागि ऐन कानून नीतिनियम बनाउने कानून निर्माताको सोचमा सकारात्मक परिर्वतन नआएसम्म नेपालमा लगानीको सहज वातावरण बन्न नसक्ने उनको टिप्पणी छ ।

उद्योगपति चौधरीले आफूले विगत ४५ वर्षदेखि उद्योग व्यवसायका क्षेत्रमा काम गरेको अनुभाव सुनाउँदै भने, “नेपालमा धेरै जस्तो कानून औद्योगिक क्षेत्रको विकासका लागि प्रभावकारी बन्न सकेनन्, औद्योगिक वातावरण बनाउने गरी कानून, नीति तथा नियम बन्नु जरुरी छ ।”

पुरानो सोचमा परिवर्तन गर्नुपर्ने र आर्थिक क्षेत्रको विकासका लागि कानूनी सहजता हुनु आवश्यक रहेको उनको भनाइ छ । उद्योगी व्यवसायलाई कानूनले बाध्नेभन्दा पनि सहजीकरण गरिदिए मात्र विदेशी वा स्वदेशी लगानी बढ्ने भन्दै सांसद चौधरीले आफू यस क्षेत्रमा लागेको ४५ वर्षमा पनि अझै उस्तै कानूनी जटिलता रहेको बताए ।

पर्यटन, शिक्षा औषधिजन्य कृषिलगायतका क्षेत्रमा लगानी बढेको उल्लेख गर्दै उनले नेपालमा लगानी लगाउनसक्ने क्षेत्र अझै धेरै रहेको बताए । उद्योगपति चौधरीले भने, “धेरैभन्दा धेरै युवालाई उद्यमशील बनाउन सरकारले युवालाई प्रशिक्षण कक्षा सञ्चालन गर्नुपर्छ, कतिपय युवा उद्यमी बन्न चाहेर पनि सही दिशानिर्देशन गर्ने मान्छे नहुँदा अन्य क्षेत्र लाग्नुपर्ने बाध्यता छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *