नेकपाको केन्द्रीय कमिटी बैठक पुस १० गते बस्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेकपाको स्थायी कमिटी बैठकले सरकारले राष्ट्रपतिलाई सिफारिसपछि जारी भएको अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठकले कुनै पनि निर्णय नगरेको जानकारी गराएका थिए । त्यस्तै उनले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन तयार भएको जानकारी पनि गराएका थिए ।

बैठकले संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै पुस ५ गते बोलाइएको केन्द्रीय कमिटी बैठक १० गतेसम्मका लागि स्थगित गर्ने निर्णय पनि स्थायी कमिटीले गरेको छ भने स्थायी कमिटीको अर्को बैठक पुस ५ गते बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री ओलीले पार्टी सहमति बेगर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *