काठमाडौँ । संवैधानिक परिषदसम्बन्धी अध्यादेश अलोकतान्त्रिक र संविधानको भावनाविपरीत भएको जनाउँदै नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग गरेको छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले आज विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
राष्ट्रपतिको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिएको भन्दै राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।
संवैधानिक परिषदसम्बन्धी अध्यादेश तुरुन्त फिर्ता लिन र जारी अध्यादेशमा टेकेर तत्काल कुनै पनि निर्णय नगर्न तरुण दलले अनुरोध गरेको छ । संविधानको मर्म र भावना विपरीत प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलले संसद बैठकको माग गरिरहेको बेला महिनौदेखि संसदलाई बन्धक बनाएर र उप–सभामुख जस्तो गरिमामय पद खाली राखेर प्रधानमन्त्रीले आफ्नो स्वेच्छाचारी तरिकाले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको भन्दै उक्त अध्यादेश तुरुन्त फिर्ता लिन र जारी अध्यादेशलाई टेकेर तत्काल कुनै पनि निर्णय नगर्न तरुण दलले अनुरोध गरेको छ ।

