पार्टी एकताबद्ध भएर अघि बढ्छ : अर्थमन्त्री पौडेल

लुम्बिनी । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने बताएका छन् । अर्थमन्त्री पौडेलले मंगलबार आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत बुटवलस्थित कान्ति माविको शैक्षिक तथा छात्रावास भवनको शिलान्यास गर्दै आफूभित्रको समस्यालाई समाधान गरी एकताबद्ध भएर नेकपा अघि बढ्ने बताए ।

अर्थमन्त्रीले भने, ‘‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्ष नै टिक्ने र पार्टीको घोषणापत्रमा गरिएका प्रतिबद्धता र जनचाहनाअनुरुपका काम पाँच वर्षको अवधिमा पूरा गरेरै छाड्नेछ ।’’

उनले नेकपाभित्रको मतभेद, अन्तरविरोधले पार्टी र सरकारको भविष्यमा कुनै असर नपार्ने भन्दै नेकपामा विग्रह ल्याएर एकतामा भाँजो हाली ठूलो भाग खाऔँला भन्ने सपना देख्नेहरुलाई पनि त्यस्तो सपना नदेख्न आग्रह गरे । “नेकपा र यसको एकताबद्ध अस्तित्वलाई कसैले चुनौती दिन सक्दैन, नेकपा एकताबद्ध भएर अघि बढ्छ”, उनले भने, “नेकपामा सूँढ घुसाएर विग्रहको खोजी गर्ने जे जस्ता प्रवृति भएका छन् ती सबै असफल हुन्छन् ।”

अर्थमन्त्री पौडेलले बुटवल प्रदेशमात्र नभएर देशकै केन्द्रका रुपमा विकसित हुँदै गएको उल्लेख गर्दै १० वर्षअगाडिको बुटवल र अहिलेको बुटवलको विकासको स्वरुप तीव्र गतिमा अगाडि बढेको बताए । उनले रुपन्देहीमा अहिले सञ्चालित विकास आयोजनाले पूर्णता पाउँदा बुटवल आर्थिक, वाणिज्य, पर्यटन, सामाजिक, शिक्षा र पर्यटनको केन्द्र बन्ने स्पष्ट पारे ।

अर्थमन्त्री पौडेलले बुटवलका शिक्षण संस्थाहरु भौतिक पूर्वाधारको हिसाबले पूर्ण बन्दै गएकाले अब गुणस्तरीय शिक्षा र सीपयुक्त जनशक्ति निर्माणमा ध्यान दिन शैक्षिक संस्थाहरुलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *