हरि खरेल, दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले बहुविवाह गरेर फरार रहेका पदमबहादुर बिकलाई चार वर्षपछि पक्राउ गरेको छ ।
व्यास नगरपालिका १० नयाँबस्तीका ३३ वर्षीय पदमबहादुर बिकलाई ४ वर्षपछि उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । फरार बिकमाथि तनहुँ जिल्ला अदालतले २०७३ सालमा १ वर्ष ६ महिना कैद र १० हजार रुपियाँ जरिवानाको फैसला गरेको थियो ।
यसै गरी १२ वर्षदेखि फरार बन्दिपुर गाउँपालिका १ चिसापानीका श्यामलाल श्रेष्ठ पनि पक्राउ परेका छन् । उनी ज्यान मुद्दामा १२ वर्षदेखि फरार रहेका थिए । जिल्ला अदालतले २०६५ सालमा उनलाई १ महिना कैद र दुई हजार रुपियाँ जरिवाना तोकेको थियो ।
बिक र श्रेष्ठबाहेक विभिन्न मुद्दामा फरार रहेका अन्य सात जनालाई पनि तनहुँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कुटपिट मुद्दाका एक, नाता कायम मुद्दाका तीन र सम्बन्ध बिच्छेद मुद्दाका तीन रहेको नायव उपरीक्षक तिमिल्सिनाले जानकारी दिए ।
