गरिबीको पहिचान बदल्न सहकारीको महत्वपूर्ण भूमिका : मन्त्री केसी

कर्णाली । कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बिमला केसीले कर्णालीको गरिबीको पहिचान बदल्न सहकारीको महत्वपूर्ण भूमिका हुने बताएकी छीन् ।

भेरीगङ्गा नगरपालिका–१२ सुर्खेतस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडद्वारा निर्माण गरिएको शीतगृहको आज उद्घाटन गर्दै उनले अर्थतन्त्रको तीनखम्बे नीतिमा सहकारी मुलुक समृद्धिको बलियो आधार भएको बताइन् ।

“आर्थिक समृद्धिको नेतृत्व अब सहकारीले लिनुपर्दछ”, उनले भनिन्, “प्रदेश सरकारले रु सात करोड निजी क्षेत्रलाई दिँदा काम गर्न नसकेर फिर्ता भयो तर सहकारीहरु यस कार्यमा सफल भएका छन् ।” सहकारीहरुको दिगो विकास गर्ने कुरामा प्रदेश सरकार तयार रहेको जिकिर गर्दै मन्त्री केसीले विकास निर्माणको सवालमा कोही कसैले राजनीति गर्न नहुनेमा जोड दिइन् ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेकी उनले समाजवाद निर्माणको आधार सहकारी रहेको र मुलुकको नेतृत्व गर्न महिला सक्षम रहेको उदाहरण महिलाको नेतृत्वमा सञ्चालित साना किसान कृषि सहकारी संस्था लिमिटेडले देखाएको भन्दै कृषि र श्रमलाई सम्मान गर्ने संस्कृति स्थापित गर्न सबै क्षेत्रको साझा लगाव हुनुपर्ने बताइन् ।

नेकपा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक सीता नेपालीले सङ्घीयताले तल्लो तहलाई बलियो बनाएको र जसको लाभ महिलालगायत लक्षित वर्गले उठाएको दाबी गरिन् । “महिलाको जिम्मेवारीमा भएका विकासका थुप्रै कामहरु उदाहरणीय छन्”, उनले भनिन्, “मुलुकमा आएको राजनीतिक परिवर्तनसँगसँगै अब आर्थिक समृद्धिको बाटोलाई फराकिलो बनाएर लैजानुपर्दछ ।”

कर्णाली प्रदेश सभा सदस्यद्वय पद्मा खड्का र अमृता शाहीले किसानको उत्पादनको बजारीकरणमा आएको समस्यालाई समाधान गर्नुपर्ने र उनीहरुले उचित मूल्य पाउने अवस्था सृजना गर्नुपर्नेमा जोड दिए । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्र मिश्रले समय क्रमसँगै कृषि परम्परा नरहेर यो व्यापारमा परिणत भएको बताए ।

सहकारीका अध्यक्ष ज्ञानु भुसालले विसं २०६७ मा दर्ता भएको संस्थाले कर्णालीमा पहिलो पटक एक महिलाको नेतृत्वमा २०० मेट्रिक टन क्षमताको शीतगृह निर्माण भएको जानकारी दिए ।

भेरीगङ्गा नगरपालिकाका प्रमुख भूपेन्द्रबहादुर चन्द, गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना विक, उद्योग वाणिज्य सङ्घ छिन्चुका अध्यक्ष सोमराज ढकाललगायत कृषियोग्य भूमि जोगाएरमात्र उत्पादन बढ्ने र त्यसले शीतगृह भरिने बताए ।

रु दुई करोड ९७ लाख २५ हजार ३१० लागतमा निर्माण भएको सो शीतगृह २०० मेट्रिक टन क्षमताको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *