महाधिवेशन गराएर कांग्रेसलाई विश्वासिलो पार्टी बनाउनुपर्छ : डा महत

चितवन । नेपाली कांग्रेसका नेता डा रामशरण महतले महाधिवेशन गराएर कांग्रेसलाई जनताको विश्वासिलो पार्टी बनाउनुपर्ने बताएका छन् । कांग्रेस चितवनले आज आयोजना गरेको विरोधसभामा उनले पार्टी नेतृत्वलाई सच्याएर जनताको लायक पार्टी बनाउनुपर्नेमा जोड दिए ।

उनले भने, “निष्पक्ष ढङ्गले महाधिवेशन गरेर जनताको विश्वास जित्ने पार्टीका रुपमा कांग्रेसलाई ल्याउन आवश्यक छ ।” कांग्रेस लोकतान्त्रिक, आर्थिक नीति ल्याउन सक्ने र विकासप्रेमी पार्टी भएको उनको भनाइ थियो ।
सरकारले संविधान कार्यान्वयनमा ल्याउन नसकेको आरोप लगाउँदै उनले अहिलेसम्म संविधान कार्यान्वयनका लागि खासै काम हुन नसकेको बताए । उनले भने, “जनताको अधिकारका लागि सङ्घीयतामा तीन तहको सरकार बनाइएको हो तर सबै अधिकार केन्द्रमा नै सीमित गर्न खोजिँदै छ ।”

कार्यक्रममा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशीलगायतले बोलेका थिए । अपराह्न १२ः३० बजे भरतपुरको चौबीसकोठीबाट शुरु भएको र्याली पुल्चोक पुगेर विरोधसभामा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *