काठमाडौ । दक्षिण अफ्रिका पुर्याएर ५ युवतीलाई बेचेको अभियोगमा सिन्धुपाल्चोककी महिलालाई नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले आईतबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोककी अनिता तामाङ भन्ने अनिता सुनुवार रहेको ब्यूरोका एसउसपी देवबहादुर बोहोराले जानकारी दिए । उनलाई चावहिलबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता अनुरागकुमार द्विवेदीले जानकारी दिए।
यसअघि मङ्सिर १६ गते सोही घटनामा संलग्न रहेको आरोपमा ताप्लेजुङ, मिरिङदेङका गणेशकुमार लोंवालाई पानीपोखरीबाट पक्राउ गरिएको थियो। उनीहरुमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
उनीहरुले विसं २०७३ को ३ चैतमा वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाइदिने प्रलोभनमा पारी पाँचजनालाई विभिन्न मुलुक हुँदै दक्षिण अफ्रिका पुर्याएर बिक्री गरेको ब्युरोले जनाएको छ ।
