काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले थुनामा पठाउन आदेश दिएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोग लागेका उनलाई ४ घन्टा बयान लिएपछि न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हाे ।
बस्न्यातविरुद्ध ९ करोड ६५ लाख रुपैयाँ बिगो र ८ देखि १० वर्षसम्मको कैद सजाय माग दाबी गरिएको थियो । अख्तियारले बस्न्यातमाथि भौतिक पूर्वाधार मन्त्रालयमा सचिव रहँदा जग्गा व्यक्तिका नाममा सार्न सहयोग गरेको दाबी गर्दै कारवाहीको माग गरेको थियो । सरकारी सम्पत्ति गैरकानुनी रूपमा अरूको नाममा दर्ता र भोग चलन गराएका, नेपाल सरकारलाइ हानी पुर्याउन बदनियतले लिखत तयार गरेको र सरकारी सम्पत्तिको हानी नोक्सानी गरेको आरोपपत्रमा उल्लेख थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियाे । अख्तियारका पूर्व प्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी, जग्गा खरिदबिक्री गर्नेहरूविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको थियो ।
