संंवैधानिक नियुक्तिमा भागबन्डा मिलेन, कांग्रेस बैठकमा नजाने

काठमाडौं । भागबन्डा नमिलेपछि आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् ।

तर देउवाले पार्टीको कार्यक्रमका कारण बैठकमा आफ्नो उपस्थिति हुन नसक्ने जानकारी संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएका छन् ।

कांग्रेसले मंसिर २९ मा देशभर सरकारविरुद्धको प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । सोही प्रदर्शनको तयारीका लागि व्यस्त रहने भएकाले परिषद् बैठकमा आफ्नो दलको उपस्थिति नहुने जानकारी प्रधानमन्त्रीलाई सभापति देउवाले गराएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

देउवा निकट एक नेताले भने, ‘शुक्रबार मात्रै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीचको अनौपचारिक छलफलमा समेत बैठकबारे छलफल भएको थियो ।’ तर हाल आएर एकतर्फी रूपमा सत्ता पक्षले नियुक्तिमा अडान लिएकाले भागबन्डा नमिल्दा देउवा बैठकमा नजाने भएको जानकारी दिए ।

ती नेताका अनुसार कांग्रेसले अख्तियार तथा निर्वाचन अयोगमा आयुक्त दिनुपर्ने अडान लिएको छ । यसैगरी अन्य निकायमा समेत सम्मानजनक स्थान दिनुपर्ने कांग्रेसको अडान छ ।

सत्तारूढ दल नेकपाभित्र किचलो बढ्दै गएपछि प्रधानमन्त्री ओलीले कांग्रेस सभापतिसँग निरन्तर भेट्दै संवैधानिक नियुक्तिका लागि छलफल गर्दै आइरहेका छन् । त्यही सिलसिलामा शुक्रबार पनि अनौपचारिक भेटवार्ता भएको थियो ।

चरणगत छलफलपछि रिक्त संवैधानिक निकायमा नियुक्तिका लागि सहमति गर्न सरकारका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रतिपक्षी दल कांग्रेसका तर्फबाट नेता रमेश लेखकलाई जिम्मा दिइएको थियो ।

कांग्रेसका तर्फबाट छलफलको जिम्मेवारी पाएका नेता लेखकले भने भागबन्डा नमिलेकाले नभई पूर्वनिर्धारित पार्टी कार्यक्रमका कारण सभापति देउवा बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराइएको बताए ।

‘भागबन्डा नमिलेको वा खोजेको त्यस्तो कुरै होइन । ७७ जिल्लामा नै विरोध प्रदर्शनको पूर्वनिर्धारित कार्यक्रम भएकाले व्यस्तताका कारण उपस्थित हुन नसक्ने जानकारी गराइएको हो,’ नेता लेखकले भने ।

देउवाले सवैधानिक परिषद् बैठकमा जाने कि नजाने भन्ने विषयमा केही नेतासँग शनिबारसमेत छलफल गरेका थिए । सो क्रममा केही नेताले भने प्रदर्शन तोकिएको अवस्थामा त्यसलाई प्रभावित पार्न परिषद् बैठक बोलाइएको भन्दै बैठकमा सहभागी नहुन दबाब दिएका थिए । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *