काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा विप्लव समूहले गरेको शिक्षक हत्याको विरोध गर्दै दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गरी कुनै पनि व्यक्तिलाई विचार आस्था र आशंकाको आधारमा स्वेच्छाचारी रुपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न विप्लव नेतृत्वको नेकपालाई आग्रह गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेको हो ।
त्यस्तै पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि आयोगले सरकारलाई आग्रह गरेको छ । मंगलबार विहान मोरङ मिक्लाजुङ–१ को सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्या भएको थियो । हत्याको नेकपाले जिम्मेवारी लिएको छ । उसले आफूहरुविरुद्ध श्रेष्ठले सुराकी गरेका र आफ्ना कार्यकर्तामाथि जाइलागेकाले प्रतिकार गर्दा मृत्यु भएको जनाएको छ ।

