मेक्सिकोमा डिसेम्बरको अन्त्यदेखि कोभिडविरुद्धको खोप लगाइने

कोरोनाभाइरसको महामारीबाट नराम्रोसँग प्रताडित मेक्सिकोमा यही डिसेम्बर महिनाको अन्त्यदेखि व्यापक खोप अभियान शुरु हुँदैछ । मेक्सिको सरकारले पहिलो चरणमा स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोप दिने बताएको छ ।

उपस्वास्थ्य मन्त्री ह्युगो लोपेज–गाटेलका अनुसार पहिलो चरणको खोप अभियान यही डिसेम्बर महिनाको तेस्रो साताबाट शुरु हुने र त्यो फेब्रुअरी २०२१ सम्म चल्नेछ । राजधानी मेक्सिको सिटी र उत्तरी कोहाउइला राज्यलाई पहिलो प्राथमिकतामा राखिएको पनि उनले जानकारी दिए । मेक्सिको सिटीमा आयोजित पत्रकार सम्मेलनमा उनले चिकित्सक र नर्सका साथै वृद्धवृद्धा समेतका अति जोखिममा परेका नागरिकलाई पहिलो प्राथमिकताका साथ खोप दिइने बताए ।

मेक्सिकोका विदेश मन्त्री मार्सेलो एब्रार्डका अनुसार यसै महिना करिब २ लाख ५० हजार डोज खोप मेक्सिको आइपुग्ने जानकारी दिएका छन् । मेक्सिकोमा सोमबारसम्म ११ लाख ८२ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका र हालसम्म १ लाख १० हजार जनाको मृत्यु भइसकेको छ ।

राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले मेक्सिकोका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क वितरण गरिने घोषणा गरेका छन् । सरकारले यसअघि नै फाइजर–बायोएनटेक कम्पनीसँग ३ करोड ४४ लाख डोज खोपका लागि सम्झौता गरिसकेको छ जसमध्ये २ लाख ५० हजार डोज डिसेम्बर १७ भित्रमा मेक्सिको आइपुग्ने अपेक्षा गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *