ललितपुरमा बिद्यालय खोल्ने जिम्मा बिद्यालय ब्यवस्थापन समितिलाई

 

ललितपुर । ललितपुर महानगरपालिकाले कोरोना संक्रमण ( कोभिड —१९)ले झण्डै नौ महिनादेखि बन्द रहेका विद्यालयमा कहिले र कसरी पढाई सुरु गर्ने सम्बन्धमा निर्णय गर्न विद्यालय व्यवस्थापन समितिलाई जिम्मा दिएको छ ।
महानगर प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा बसेको बैठकले विद्यालयमा रहेको अभिभावक शिक्षक समिति र वडा कार्यालयसँग छलफल गरी विद्यालय संचालनको निर्णय गर्ने जिम्मा व्यवस्थापन समितिलाई दिएको हो ।
बैठकमा नगर प्रमुख चिरीबाबु महर्जनले भने, ‘विद्यालयको भौतिक पूर्वाधार , विद्यार्थी संख्या समान छैनन् , यी सबै कुरा मध्यनजर गर्दै विद्यालय कहिलेबाट र कसरी संचालनगर्ने निर्णय व्यवस्थापन समितिलाई दिएका छौं, त्यो प्रभावकारी हुन्छ। ’
उनले विद्यालय संचालन गर्दा नेपालका सरकारले भने बमोजिम स्वास्थ्य सुरक्षाका मापदण्ड र विद्यालय संचालन कार्यविधि अपनाउन समेत निर्देशन दिए । नगर प्रमुख महर्जनले सामुदायिक विद्यालयलाई आवश्यक पर्ने साबुन, पानी र मास्क महानगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता व्यक्ति गरे ।
यसैगरी बैठकले स्वास्थ्य विज्ञ सहित महानगरले विद्यालय संचालनको अवस्था थाहा पाउन अनुगमन समितिले अनुगमन समेत गर्ने निर्णय गरेको छ ।
बैठकमा उपप्रमुख गीता सत्यालले व्यवस्थापन समितिको अध्यक्ष वडा अध्यक्ष हुने भएकाले विद्यालय कहिले र कसरी खोल्ने निर्णय समितिलाई दिँदा त्यो प्रभावकारी हुने स्पष्ट पारिन् । उनले भनिन् ,‘ विद्यालय खोल्दा स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्छ ,त्यसको अनुगमन महानगरपालिकाले गर्छ । ’
सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीले विद्यालयले स्वास्थ्य मापदण्ड पुरा गरी विद्यालय संचालन गर्ने जिम्मा व्यवस्थापन समितिलाई दिँदा प्रभावकारी हुने स्पष्ट पारे ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, शिक्षा सल्लाहकार लोकबहादुर खड्कालगायत सरोकारवालाहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *