प्रज्जवल थापा । क्रिस्टियानो रोनाल्डोको दुई गोलको सहयोगमा युईएफए च्याम्पियन्स लिगमा युभेन्टसले सानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले बार्सिलोनालाई उसकै घरेलु मैदानमा ३-० गोल अन्तरले पराजित गरेको हो ।
क्याप नोउमा भएको खेलमा युभेन्टसलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई र वेस्टन मेकेनीले एक गोल गरे । खेलको १३ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । बार्सिलोनाका खेलाडी रोनाल्ड अरौजोले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि युभेन्टसले पेनाल्टी पाएको थियो ।
२० औँ मिनेटमा जुहान कौड्राडोको पासमा वेस्टन मेकेनीले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । पहिलो हाफमा दुई गोल गरेको युभेन्टसले दोस्रो हाफमा थप एक गोल गर्याे । खेलको ५२ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई बलियो स्थितिमा पुर्याए । बार्सिलोनाका डिफेन्डर लेङलेटले पेनाल्टी क्षेत्रभित्र हेन्ड गरेपछि युभेन्टसले खेलको दोस्रो पेनाल्टी पाएको थियो ।

बार्सिलोनाले खेलमा राम्रो अवसर पाए पनि गोल गर्न नसक्दा हार बेहोर्न बाध्य भयो । बाँकी समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि युभेन्टस ३-० गोलले विजयी भएको हो । झण्डै ३ वर्षपछि विश्व फूटबलका दुई उत्कृष्ट खेलाडी रोनाल्डो र मेस्सी एकसाथ मैदानमा उत्रिएको भए पनि यस खेललाई विशेष रुचीको रुपमा हेरिएको थियो ।
जितसँगै युभेन्टस शीर्ष स्थानमा रहेको नकआउट चरणमा प्रवेश गरेको छ । यस्तै समान अङ्क जोडेको बार्सिलोना दोस्रो स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ ।
