नेपालमा भ्रष्टाचार झन् बढ्यो : ट्रान्सपरेन्सी इन्टरनेसनल

काठमाडौँ । एसियाली मुलुकमध्ये सबैभन्दा बढी जनताले भ्रष्टाचार बढेको विश्वास गर्ने देश नेपाल नै रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलको ग्लोबल करप्सन ब्यारोमिटर एसियाले उल्लेख गरेको छ । प्रतिवेदन अनुसार एक वर्षमा भ्रष्टाचार झन् बढेको ५८ प्रतिशत नेपालीले मान्ने गरेको पाइएको छ ।

२३ प्रतिशत जनताले भ्रष्टाचार घटबढ नभई उही स्तरमा रहेको विश्वास गर्ने तथा १८ प्रतिशत जनताले मात्रै भ्रष्टाचार घटेको मान्ने गरेको प्रतिवेदनले जनाएको छ । ५० प्रतिशत जनताले राष्ट्रपति तथा प्रधानमन्त्री भ्रष्टाचारी रहेको विश्वास गर्ने गरेका छन् ।

सांसद र सरकारी अधिकारीहरू भ्रष्ट रहेको सोच्ने नेपाली ४३ प्रतिशत, स्थानीय तहका अधिकारीहरू भ्रष्ट रहेको सोच्ने नेपालीको संख्या ४० प्रतिशत र २८ प्रतिशतले प्रहरी भ्रष्टाचारी हुने सोच्ने गरेको अध्ययनले देखाएको छ । नेपालका ८४ प्रतिशत जनताले भ्रष्टाचार ठूलो समस्या रहेको सोच्ने गरेको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।

१२ प्रतिशत जनताले एक वर्षमा सार्वजनिक सेवा लिँदा कुनै न कुनै रूपमा घुस खुवाउनुपरेको, २९ प्रतिशत जनताले एक वर्षमा सार्वजनिक सेवा लिँदा भनसुन गर्नुपरेको, १३ प्रतिशत जनतालाई भोट दिनका लागि घुस खुवाइएको तथा सात प्रतिशतले सार्वजनिक सेवा लिँदा यौन दुव्र्यवहार भएको वा त्यस्तै व्यवहार भएको व्यक्ति चिनेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

६२ प्रतिशत नेपालीले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले राम्रो काम गरिरहेको, ३७ प्रतिशतले भने भ्रष्टाचार नियन्त्रणसम्बन्धी सरकारी पहल खराब रहेको र ६८ प्रतिशत जनता भ्रष्टाचारविरुद्ध लड्न सामान्य मानिसले उल्लेख्य काम गर्न सक्ने विश्वास गर्ने प्रतिवेदनमा उल्लेख छ । ट्रान्सपरेन्सीले एसियाका १७ मुलुकमा भ्रष्टाचारको स्तर तथा सार्वजनिक सेवाको समान पहुँच तथा सरकारप्रतिको विश्वासजस्ता विषयमा जनतामाझ सर्वेक्षण गरी यो प्रतिवेदन तयार पारेको हो । यो प्रतिवेदनका लागि २० जना व्यक्तिसँग मार्च २०१९ देखि सेप्टेम्बर २०२० सम्म सर्वेक्षण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *