प्रज्जवल थापा । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले यस सिजन पश्चात् क्लब छाड्ने रिभाल्डोले बताएका छन् । नयाँ बार्सिलोनाको बोर्डले मेस्सीलाई मनाउन असफल हुने पुर्व बार्सिलोनाका फर्वार्ड रिभाल्डोले अनुमान गरेका छन् ।
बार्सिलोनाको लागि मुख्य खेलाडी रहँदै आएका मेस्सीले गत सिजन क्लब छोड्ने बताएका थिए । तर क्लबको पुर्व बोर्डले उनलाई बेच्न नमानेपछि मेस्सी यस सिजनको लागि क्लबमै बसेका थिए । पुर्व अध्यक्ष जोसेप मारिया बोर्टेमेउले गत महिना आफ्नो पदबाट राजिनामा दिएका थिए ।
“बार्सिलोनाले पहिले नै खेलाडीहरूसँग केही तलब कटौतीको बारेमा कुराकानी गरिसकेको थियो र सामान्य कटौती गर्ने प्रयास पनि गरे जुन टोलीले अस्वीकार गरेका थिए, त्यसैले खेलाडीहरूको लागि यो कुनै नयाँ कुरा होइन,” रिभल्डोले आफ्नो बेटफेयर स्तम्भमा लेखे। “तर यसले मेस्सीको सम्झौताको नवीकरण गर्ने सम्झौतामा पुग्न गाह्रो हुँदै गएको छ भन्ने धारणालाई अझ सुदृढ बनाउँछ।”
अन्य क्लबबाट राम्रो अफर आएको खण्डमा मेस्सीले क्लब छाड्ने रिभाल्डोले बताएका छन् । गत सिजन मेस्सीलाई किन्न म्यान्चेस्टर सिटि, पिएसजी र इन्टर मिलान इस्चुक देखिएका थिए । तर बार्सिलोनाले यस सिजन घरेलु केही उपाधी र च्याम्पियन्स लिग जितेको खण्डमा मेस्सीको मन बद्लिन सक्ने एजेन्सीले जनाएको छ ।
३३ वर्षिय मेस्सीले यस सिजन ला लिगमा ७ खेलमा ३ गोल गरेका छन् र सबै प्रतियोगितामा गरि उनले कुल ६ गोल गरेका छन् । लिगमा बार्सिलोनाले शनिबार एथ्लेटिको म्याड्रिको भ्रमण गर्दै छ । ला लिगामा हाल बार्सिलोना ७ खेलमा ११ अङ्क जोड्दै आठौँ स्थानमा छ ।