बेद उप्रेतीको म्युजियम महेन्द्रनगरमा पनि

 

महेन्द्रनगर ।
क्याप्टेन बेद उप्रेती ट्रष्टले कञ्चनपुरको महेन्द्रनगरमा ‘स्टेच्यू अफ सिद्धनाथ बाबा’ र म्युजियम परिसर शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ ।
ट्रष्टका सञ्चालक क्याप्टेन उप्रेतीले स्टेच्यू अफ सिद्धनाथबाबा र म्युजियम परिसर सर्वसाधारणका लागि खुला गरेको बताए । उनले भने – लकडाउन र महामारीले सञ्चालन समयमा गर्न सकेनौं ।

उनले पछिल्लो समय म्युजियम परिसरमा फोटो खिच्ने, टिकटक बनाउने क्रम बढेपछि निर्माणाधीन म्युजियम बाहेक स्टेच्यू अफ सिद्धनाथाबाबा र म्युजियम परिसर खुला गरेको बताउनुभयो ।
उनले भने – अवस्था ठिक भए सबै सेवा नियमित गर्नेछौं । परिसर बाहिर स्टेच्यू अफ सिद्धनाथाबाबा, स्वीमीङ पुल, नौ धारा, हेलिकोप्टर र सुदूर पश्चिमका पर्यटकीय स्थलहरुका हवाई चित्रहरु रहेका छन् भने भित्र अप्स एण्ड डाउन, थ्रिडी र ईलुजन कक्ष छन् ।

यसले विद्यार्थीहरुलाई प्रेरणा, सिद्धनाथ बाबाको दर्शन पश्चात पाईने सन्तुष्टि, युवाहरुलाई थ्रि डी र अप्स एण्ड डाउनको आकर्षण र गर्मीमा नौ धारा सहितको स्वीमीङ पुल र हेलिकोप्टर भित्र बसी जो कोहीले खिच्न पाउने फोटोग्राफको अवसरले यो संरचना सुदूरपश्चिमको आर्कषक पर्यटकीय स्थल बन्ने बताए । सो संरचनाका लागि क्याप्टेन उप्रेतीकी आमा सरस्वती र क्याप्टेन स्वयंले ट्रष्टका लागि जग्गा दान गर्नुभएको छ । जग्गाको मूल्य तीन करोड पर्छ । म्युजियमको निर्माणमा चार करोड समेत गरी सात करोडको लागतमा म्युजियम बनेको हो ।
जग्गा दान र म्युजियम बनाउन हौसला प्रदान गर्ने आमा सरस्वतीको उक्त परिसर भित्र शालिक बनाइएको छ ।

ट्रष्टले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सो स्थलमा प्रवेश निशुल्क गरेको छ । अन्यको हकमा प्रवेश शुल्क ५० निर्धारण गरिएको छ ।
म्युजियम पूर्ण रुपमा सञ्चालनमा आईसकेपछि भने विद्यार्थीलाई १०० र अन्यका लागि १५० प्रवेश शुल्क निर्धारण गरिएको छ । ट्रष्टले यसअघि धनगढी र काठमाडौंमा म्युजियम सञ्चालनमा ल्याइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *