अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा सङ्क्रमण विज्ञ फाउचीलाई निस्कासन गर्ने चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारको निर्वाचनबाट आफु पूनः राष्ट्रपतिमा निर्वाचित भएमा सङ्क्रमण रोग विज्ञ डा. एन्थोनी फाउचीलाई जिम्मेवारीबाट हटाउने चेतावनी दिएका छन् ।

सङ्क्रमण रोग न्युनिकरण, नियन्त्रण र व्यवस्थापनसम्वन्धी देशको उच्च जिम्मेवारीमा रहेका फाउचीलाई उनले हटाउने चेतावनी दिएका हुन् ।

अमेरिका व्यापक सङ्क्रामक रोग कोरोनाभाइरसबाट अत्यन्त आक्रान्त बनेको वेला नै उनले हटाउने चेतावनी राष्ट्रपति ट्रम्पले दिएका छन् । गत वसन्त ऋतुदेखि नै फैलिएको महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न राष्ट्रपति ट्रम्प असफल भएको र त्यसमा डा फाउचीको कुरालाई उनले वेवास्ता गर्ने गरेको आरोप लाग्दै आएको थियो ।

डा फाउचीले अमेरिकामा सङ्क्रमण फैलिन नदिन वा सचेतना गर्न र व्यवस्थापन गर्न आफ्नो तर्फबाट सक्दो प्रयासहरु गर्दै आएको भन्दै कतिपयले उनको प्रशंसा गर्ने गरेका छन् । कोरोनाभाइरसका कारण अमेरिकामा अहिलेसम्म कम्तीमा दुई लाख ३१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

फ्लोरिडामा आयोजना गरिएको चुनावी कार्यक्रममा सम्वोधन गर्नेक्रममा राष्ट्रपति ट्रम्पले डा फाउचीप्रति असन्तुष्टि व्यक्त गर्दै सङ्क्रमण र त्रास फैलिनुमा डा फाउची पनि दोषी रहेको आरोप लगाए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *