सिरहा । सिराहाका एक व्यक्तिले आफ्नै आमाको हत्या गरेका छन् । कर्जन्हा नगरपालिका ३ निवासी ९० वर्षीया सुदामा देवी साहलाई उनको कान्छो छोरा रामअवतार साहले बोक्सीको आरोपमा कुटपिट गरी ज्यान लिएको प्रहरीले जनाएको छ ।
रामअवतारकी बुहारी मनिषाको खुट्टामा घाउ भइ लामो समयसम्म निको नभएपछि आमाले नै बोक्सी लगाएर घाउ बनाएको आरोप लगाउँदै निर्घात कुटपिट गर्दै दिसा खुवाउन लाग्दा प्रहरी टोलीले बचाएको थियो ।
दुई छोराहरुमध्ये दुवै अलग्गिएपछि आमा एक्लै बस्दै आएकी सुदामा गत बुधबार कान्छो छोरा रामअवतारको कुटाइबाट सुदामा घाइते भएकी थिइन् । उनलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो । घाँटीको हड्डी बाँगिएको र यो उमेरमा उपचार हुन नसक्ने भन्दै चिकित्सकले दुई दिनपछि घर फर्काइदिएका थिए । शनिबार स्वास्थ्य पुनः बिग्रिएपछि सिरहा जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रामअवतारलाई प्रहरीले पक्राउ गरिसकेको छ । शुक्रबार नै प्रहरीको नियन्त्रणमा आएका उनले आफ्नो अपराध पनि स्वीकार गरिसकेकाले ज्यान मुद्दा दर्ता हुने प्रहरिले जनाएको छ ।
