पशुपतिनाथ क्षेत्रमा रहेकाे गुह्येश्वरी मन्दिरबाट दुई किलो सुन गायब

काठमाडौँ । पशुपतिनाथ क्षेत्रमा रहेको गुह्येश्वरी मन्दिरमा १७३.५ तोला सुन अनियमितता भएको तथ्य फेला परेको छ । पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरी मन्दिर गर्भगृह मर्मत सम्भार गर्ने क्रममा अष्टदल र भैरवको मूर्तिमा रहेको १७३.५ तोला अर्थात् दुई किलोभन्दा बढी सुन अनियमितता भएको भेटिएको हो ।

अष्टदलको मूर्तिमा साविकमा ३७९ तोला सुन थियो । मर्मत सम्भार गर्ने क्रममा निकालेर जोख्दा २९४ तोलामात्र भेटिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए । अष्टदलमा ८५ तोला सुन अनियमितता भएको भेटिएको छ । यसैगरी भैरवको मूर्तिमा साविकमा ३३४ तोला सुन भएकामा मर्मत सम्भारका क्रममा निकालेर जोख्दा २४५.५ तोलामात्र पाइएको छ । भैरवको मूर्तिबाट ८८.५ तोला सुन गायब भएको छ ।

“साविकको सुन गायब भएपछि रु दुई करोड ११ लाख खर्च गरी कोषले सुन थपेर अष्टदल र भैरवको मूर्ति पुनःनिर्माण गरेको छ, सुनका दुवै संरचना विसं २०५७ मा निर्माण भएको हो, १८ १८ वर्षमा सवा दुई करोडको सुन अनियमितता भयो भने यो रकम कसले व्यहोर्ने ?”  उनले भने । गुह्येश्वरी मन्दिर कोष मातहत नै भएपनि यहाँको व्यवस्थापन गुठी संस्थानले गठन गरेको समितिले गर्दै आएको छ । द्वैध स्वामित्वका कारण मन्दिरमा बेला बेलामा विवाद आउने गरेको छ ।

व्यवस्थापन समितिका अध्यक्ष सुमित खड्गी गुह्येश्वरी मन्दिरमा अण्डा, जाँड, रक्सी जस्ता तामसी चीज पनि चढाइने भएकाले सुन खिइएर गएको दावी गर्छन् । कोषले व्यवस्थापन समिति र पुजारीलाई समेत विसं २०७५ भदौ ६ गते नै सुन गायब भएको विषयमा सत्य तथ्य खुलाउन भनी पत्राचार गरेको थियो । समिति र पुजारीबाट चित्तबुझ्दो जवाफ नआएपछि छानबिन समिति बनाएर यससम्बन्धमा गहिरिएर अध्ययन गर्न लागिएको कोषाध्यक्ष थापाले बताए ।

सुनको खिइएर बनेको टुक्रासमेत नदेखाइएकाले छानबिन गर्न लागिएको हो । अण्डा, जाँड, रक्सीले सुन खिइएको भए प्वाल परेको, खिया लागेको हुनुपर्नेमा त्यस्तो समेत नभेटिएको कोषले जनाएको छ । छानबिन समितिमा संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालय, संस्थानलगायत सरोकार भएका निकायका प्रतिनिधिसमेत राख्ने गृहकार्य भइरहेको छ । यस क्रममा १८ वर्षको अवधिमा दुई किलोभन्दा बढी सुन अण्डा, जाँड, रक्सीले खिइन्छ कि खिइन्न भनी प्रयोगशालामा परीक्षण समेत गरिने भएको बुझिएको छ ।

अष्टदल एवं भैरवको मूर्तिमा समितिका पदाधिकारी र पुजारीको नाम राख्न कोषलाई दबाब दिइएको थियो । नाम नराखिएपछि समितिले अष्टदल स्थापना गर्ने साइत निस्केन भन्ने निहुँमा राख्न दिएको छैन । मर्मत सम्भार गरिएको अष्टदल र भैरवको मूर्ति घटस्थापनाका दिन गर्भगृहमा स्थापना गर्ने कोषको तयारी थियो । समितिले अहिले साइत निस्किएन एक महिनापछि मात्र राख्नुपर्छ भनी पन्छाएका छन् ।

गुह्येश्वरीका सत्तलसमेत कोषले नै पुनःनिर्माण गरेको हो । रु २० करोडको लागतमा मन्दिर, सत्तललगायत ऐतिहासिक एवं धार्मिक महत्वका संरचना पुनःनिर्माण गरिएको हो । पुनःनिर्मित सत्तल समितिले अनधिकृत रुपमा उपयोग गर्दै आएको छ । समितिका पदाधिकारीले आफन्तलाई यहाँ बास समेत दिएको कोषको भनाइ छ ।

गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको अष्टदलमा कोषले ७५ किलो चाँदीको घेरा थप गरेको छ । मन्दिरमा मर्मत सम्भार एवं पुनःनिर्माण कोषले गर्ने तर त्यसको दुरुपयोग समिति र पुजारीका तर्फबाट भएकाले गुह्येश्वरीको समग्र विषय छानबिन गर्ने कोषको तयारी छ । गुह्येश्वरीका नाममा रहेको अन्य सम्पत्ति समेत छानबिनको दायरमा आउने भएको छ । पशुपति क्षेत्रमा रहेको सबै मठ मन्दिरको व्यवस्थापन गर्ने कार्यक्षेत्र पशुपति क्षेत्र विकास कोष ऐनले दिएको तीन दशक बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन ।

गुह्येश्वरी क्षेत्र र चाबहिल क्षेत्रका मठमन्दिर कोष मातहत आउन सकेका छैनन् । चन्द्रविनायक मन्दिर क्षेत्रमा पनि गैरसरकारी संस्थाको रजाइँ भइरहेको छ । यसका कारण ती मठमन्दिर र त्यससँगैको सार्वजनिक जग्गामा अनियमितता भएको स्थानीयवासीको गुनासो छ । कोषका सदस्यसचिव डा प्रदीप ढकालले पशुपति क्षेत्रका सबै मठमन्दिर कोष मातहत नै ल्याउने, नियमावली बनाई भेटीघाटी पारदर्शी गर्नेलगायतका तयारी भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *