प्रज्जवल थापा
इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले सनदार जित निकालेको छ । बुधबार राति भएको खेलमा बैंगलोरले कल्कता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको हो ।
सेख जायद रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गर्न उत्रिएको कलकताले निर्धारित ओभरमा ८ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो । कलकताले मात्र ३ रन जोड्दा ३ विकेट गुमाएको थियो ।
खेलको दोस्रो ओभरमा मोहमद सिराजले एकै ओभरमा राहुल त्रिपाठी र नितेश रानालाई आउट गरे । यस्तै शुभ्मन गिल १ रन बनाएर नवदीप सैनीको बलमा आउट भए । टोम बेन्टन १० रन बनाएर मोहमद सिराजको बलमा डि भिल्लियर्सबाट क्याच आउट भए । कप्तान मोर्गानबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । मोर्गानले ३४ बलमा ३ चौका र १ छक्काको मद्दतमा ३० रन जोडे । दिनेश कार्तिकले ४, प्याट कमिङ्सले ४, कुलदीप यादवले १२ र लकी फेर्गुसनले १९ रनको योगदान गरे ।
बैंगलोरका लागि सिराजले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २ मेडन राख्दै ८ रन दिएर ३ विकेट लिए । यस्तै युज्वेन्द्र चहालले ४ ओभरमा १५ रन दिँदै २ विकेट लिदा नवदीप सैनी र वासिङटन सुन्दरले समान एक विकेट लिए ।
८५ रनको विजयी लक्ष्य पछ्याएको बैंगलोरले १३.३ ओभरमा २ विकेट गुमाएर ८५ रन बनाउँदै सजिलै भेट्टायो । बैंगलोरको लागि ओपनर देवदत्त पडिक्कलले १७ बलमा ३ चौकाको मद्दतमा २५ रन जोडे । अर्का ओपनर एरोन फिन्चले २१ बलमा २ चौकासहित १६ रन जोडे । त्यसपछि ब्याटिङ गर्न आएका गुरकित सिंहले २६ बलमा २१ रन जोडे । उनले ४ चौका प्रहार गरे । कप्तान विराट कोइलीले १७ बलमा २ चौकासहित १८ रन जोडे ।
कलकताको लागि लकी फ्रेर्गुसनले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । जितसँगै बैंगलोर १० खेलमा ७ जित र ३ हारसहित १४ अङकका साथ दोस्रो स्थानमा उक्लिएको छ । कलकता १० खेलमा १० अङकका साथ चौँथो स्थानमा यथावत छ ।
