रियल म्याड्रिड शात्खार डोनेटस्कसँग स्तब्ध

प्रज्जवल थापा

युइएफए च्याम्पियन्स लिगको पहिलो खेलमा रियल म्याड्रिडसँग स्तब्ध भएको छ । बुधबार राति भएको पहिलो खेलमा रियल म्याड्रिड शात्खार डोनेटस्कसँग ३–२ गोल अन्तरले पराजित भएको हाे ।

म्याड्रिडको घरेलु मैदान अल्फ्रेडो डि स्टेफेनोमा भएको खेलमा शात्खारलाई जित दिलाउन टेटे र मोनोर सोरोमनले एक एक गोल गर्दा अर्काे एक गोल उपहार पाएको थियो । रियल म्याड्रिडको लागि मोड्रिच र भिनिसियस जुनियरले गरेको गोल सान्त्वनामा सिमित भयो । पहिलो हाफमा गतिलो प्रदर्शन गर्न नसकेको म्याड्रिड ३ गोलले पछि परेको थियो ।

२९ औँ मिनेटमा टेटेले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडि बढाएका थिए । उनले भिक्टोर कोर्निलिन्कोको पासमा गोल गरेका थिए । त्यसको ५ मिनेटपछि राफेल भरानले आफ्नै पोस्टमा गोल गरेपछि शात्खारले अग्रता दोब्बर बनायो । ४२ औँ मिनेटमा टेटेको पासमा मनोर सोलोमोनले गोल गरेपछि शात्खारले पहिलो हाफमा ३–० गोलको अग्रता लिएको थियो ।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको म्याड्रिडले २ गोल गरे पनि हार टार्न सकेन । ५४ औँ मिनेटमा लुका मोड्रिचले मार्सेलोको पासमा गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरेका थिए । ५९ औँ मिनेटमा बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका भिनिसियस पहिलो मिनेटभित्रै गोल गरेपछि रियल ३–२ को स्थितिमा आएको थियो । बाँकी समयमा थप गोल गर्न नसकेपछि शात्खार डोनेटस्क विजयी भयो ।

समुहको अर्काे खेलमा इन्टर मिलानले बोरुसिया मोन्चेनग्लाडबाकसँग २–२ गोलको बराबरी खेल्यो । मिलानको लागि लुकाकुले २ गोल गर्दा बोरुसियाको लागि बेन्सेबहिनी र होफम्यानले समान एक गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *