महामारीमा नेताहरुको उद्घाटन मोह, प्रधानमन्त्रीको गृह जिल्लामा एक घण्टाभित्र एउटै पुल दुई पटक उद्घाटन (फोटो फिचरसहित)

बिर्तामोड । महामारीका कारण उद्घाटन र शिलान्यासजस्ता कार्यक्रमलाई सरकारले नै रोक लगाइरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा एउटा सानो झोलुङ्गे पुलको उद्घाटन दुई भिन्न दलका नेताले दलबलसहित फरक फरक समयमा गरेका छन् । प्रदेश १ का प्रदेश सभा सदस्य हिराबहादुर थापा र झापा गाउँपालिका अध्यक्ष जयनारायण साहले बुधबार एक घण्टाकै फरकमा गाउँपालिका वडा नं २, बालुवाटार स्थित सो पुलको उद्घाटन छुट्टाछुट्टै गरेका हुन् ।

कार्यक्रमस्थलमा आफ्ना कार्यकर्तासहित पुग्नुभएका प्रदेश सभा सदस्य हिराकुमार थापाले रिबन काटी पुलको उद्घाटन गरेर फर्किएको एक घण्टा नबित्दै झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले सोही पुलको दुबैपट्टि रिबन बाध्न लगाई सो रिबन काटेर उद्घाटन गरेका हुन् । पुलको उद्घाटन गर्ने कार्यक्रम बिहानको साढे ८ बजे राखिएको भए पनि साढे ९ बजे प्रदेश सभा सदस्य थापाले पुलको उद्घाटन गरेर फर्किएको आधा घण्टाभित्रै कार्यकर्ता र पत्रकारसमेत लिएर कार्यक्रमस्थल पुगेका गाउँपालिका अध्यक्ष साहले पुलको उद्घाटन गरेका थिए ।

अध्यक्ष साह नेपाली कांग्रेस र प्रदेश सभा सदस्य थापा नेकपाबाट निर्वाचित नेता हुन् । तराई मधेस समृद्ध कार्यक्रमअन्तर्गत ५५ लाख रुपियाँ अनुदान र साहारा नेपालको सहयोग र जनश्रमदान गरेर जम्मा एक करोड दुई लाख रुपियाँको लागतमा उक्त पुल निर्माण भएको हो । तर पुल निर्माणपछि गाउँपालिका अध्यक्ष साहले गलत सूचनाको शिलालेख पुलमा लेख्न लगाएको प्रदेश सभा सदस्य थापाको आरोप छ । गाउँपालिका अध्यक्ष साहले थापाको आरोपको खण्डन गरेका छन् । पुलको उद्घाटनको सभापतित्वसमेत पालैपालो सम्बन्धित वडाध्यक्ष नेत्र खड्का र पुल निर्माण समितिका अध्यक्ष द्वारिका खतिवडाले गरेका थिए । यसअघि पुलको उद्घाटनका लागि प्रमुख अतिथि कसलाई बोलाउने भन्ने बारेमा समेत गाउँपालिका अध्यक्ष साह र उपाध्यक्ष कुन्तिदेवी बुढाथोकीबीच विवाद भएको थियो । उपाध्यक्ष बुढाथोकी तत्कालीन एमालेबाट निर्वाचित भएकी थिइन् ।

 

फाेटाेः मेयर जयनारायण शाहकाे फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *