बार्सिलोनाको उत्कृष्ट शुरुवात

प्रज्जवल थापा । युइएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले उत्कृष्ट शुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले फेरेन्कभारोसलाई ५-१ गोलले पराजित गरेको छ ।

घरेलु मैदान क्याप नोउमा भएको खेलमा १० खेलाडीमा रहेको खेलको अन्त्य गरेको बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी, अन्सु फाती, फिलिपे कौन्टिन्हो, पेड्री र ओस्मान डेम्बेलेले गोल गरे। फेरेन्कभारोसको लागि इगोर खरातिनले गरेको गोल सान्तवनामा सीमित भयो ।

खेलमा पहिले अग्रता घरेलु टोलीले लिएको थियो । अदनान कोभाचेभिचले मेस्सीलाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीमा गोल गर्दै मेस्सीले बार्सिलोनालाई खेलमा अगाडि बढाए । ४२ औ मिनेटमा फ्रेकी डिजोङको पासमा युवा खेलाडी अन्सु फातीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए।

५२ औ मिनेटमा कौन्टिन्होले बार्सिलोनालाई ३-० को अग्रता दिलाए । उनले अन्सु फातीको पासमा गोल गरे। खेलको ६८ मिनेटमा बार्सिलोमाका डिफेन्डर जेरार्ड पिकेले पेनाल्टी क्षेत्रभित्र चोल नगुइनलाई लडाएपछि रेफ्रीले सिधै रातो कार्ड दिएपछी बार्सिलोना १० खेलाडीमा झर्यो । उक्त पेनाल्टीमा खरातिनले गोल गर्दै बार्सिलोनाको अग्रता घटाए ।

८२ मिनेटमा डेम्बेलेको पासमा पेड्रीले गोल गर्दा बार्सिलोनाले ४-१ को अग्रता लिएको थियो । ८९ औं मिनेटमा लियोनल मेस्सीको पासमा डेम्बेलेले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे । समुहको अर्को खेलमा मोराटाको दुई गोलको सहयोगमा युभेन्टसले ड्यानामो किभलाई २ -० गोल अन्तरले पराजित गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *