वीरको अक्सिजन प्लान्ट सात महिनादेखि अलपत्र, ३५ लाखमा बन्न सक्छ, तर बनाइएन

काठमाडौ । जनताको स्वास्थ्यप्रति सरकारको संवेदनशीलता हेर्न अन्त कतै जानुपर्दैन, वीर अस्पतालको अक्सिजन प्लान्ट हेरे पुग्छ । गत चैतमा बिग्रिएको हो अक्सिजन प्लान्ट, जम्मा ३५ लाखमा बन्ने अनुमान छ । तर, त्यही बजेट पनि नभएकोले सात महिनादेखि प्लान्ट अलपत्र परेको छ ।

देशको जेठो अस्पताल वीरले विपन्न बिरामीलाई सेवा दिँदै आएको छ । तर, यही अस्पतालमा कोभिड महामारीबीच पनि अक्सिजन प्लान्ट मर्मत नहुँदा अक्सिजनका सिलिन्डर खरिदमा करोडौँ रकम खर्च भइरहेको छ ।

वैशाख ०७४ मा दुई करोड ६६ लाख रुपैयाँमा खरिद गरेर जडान गरिएको अक्सिजन प्लान्ट गत चैतमा बिग्रिएको थियो । दैनिक एक सय ५१ सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने सो प्लान्ट अहिले अस्पताल परिसरमा अलपत्र छ ।

अस्पताल भर्ना हुने करिब २० प्रतिशत संक्रमितलाई कुनै पनि समय अक्सिजन आवश्यक पर्ने चिकित्सक बताउँछन् । अझ समयमै अक्सिजन उपलब्ध गराउन सकिए आइसियू र भेन्टिलेटरमा जाने बिरामीको संख्या कम गर्न सकिने पनि चिकित्सक बताउँछन् । तर, ‘कोभिड डेडिकेटेड’ अस्पताल वीरमा अक्सिजन बनाउन सरकार संवेदनशील छैन ।

अहिले वीर अस्पतालले दैनिक ९० देखि १०० सिलिन्डर अक्सिजन किनेर चलाइरहेको छ । ‘अक्सिजन खरिदमा मात्रै लाखौँ रुपैयाँ खर्च भइरहेको छ । त्यसमाथि अहिले अस्पतालसँग पर्याप्त रकम पनि छैन । अहिले अक्सिजन सप्लायर्सले पनि अक्सिजनको मूल्य बढाउने भनेका छन्,’ अस्पतालका निर्देशक डा। केदार सेन्चुरी भन्छन्, ‘विदेशबाट सामान ल्याउने भन्ने छ, तर कहिले आउँछ भन्न सकिने अवस्था छैन, छिटोभन्दा छिटो मर्मत गर्ने योजना छ ।’

स्रोतका अभावमा रहेको वीरले सरकारसँग ३२ करोड रुपैयाँ मागेको थियो । जम्मा दुई करोड मात्र पाएकोले आर्थिक रूपमा प्राथमिकता नै छुट्याउन नसकेको अस्पताल प्रशासनले जनाएको छ । पिसिआर मेसिन, पिपिई, मास्क खरिद गर्नेदेखि स्वास्थ्यकर्मीलाई भत्ता दिनुपर्ने अवस्था छ, तर पैसा अपुग भएकोले कुनै पनि काम सहज रूपमा गर्न नसकिएको अस्पतालले जनाएको छ । यो खवर नयांपत्रिका दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *